आँगनमा करोडौँ लगानीको अस्पताल बेवारिसे, उपचार गर्न अन्यन्त्र  जानुपर्ने बाध्यता

बझाङको छबिसपाथिभेरा गाउँपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल कर्मचारी अभावमा एक दशकदेखि बन्द छ । लाखौँ रकम खर्च गरेर निर्माण गरिएका संरचना र उपकरणहरू अहिले काम नलाग्ने गरी बिग्रिएका छन् ।

२०६६ सालमा जापानी राजदूतावासको ६१ लाख ५० हजार, तत्कालीन ब्याँसी गाउँ विकास समितिको ७० हजार, मटेला गाउँ विकास समितिको ३ लाख र स्थानीयको ५० लाख बढी जन श्रमदानबाट निर्माण भएको जिवलीस्थित डोब्रा सामुदायिक अस्पताल अहिले प्रयोगविहीन अवस्थामा पुगेको छ । 

उक्त सामुदायिक अस्पताल निर्माण भएको तीन वर्षसम्म संञ्चालनमा आएको भए पनि त्यस यता बन्द रहेको छ । अस्पताल बन्द भएको एक दशक बढी भइसकेको भए पनि हालसम्म कसैले चासो नदिएको स्थानीयहरुको भनाई छ । ‘अस्पताल बनेको तीन वर्षसम्म सञ्चालन भयो । स्थानीयहरुलाई स्वास्थ्य सेवा लिनका लागी पनि सहज भएको थियो’, स्थानीय सरोज थापाले भने, ‘२०६९ सालपछि अस्पतालबाट सेवा लिन पाइएको छैन् । अहिले अस्पताल बन्द भएको १० वर्ष भइसक्यो । कसैले ध्यान दिएका छैनन् ।’ 

सामुदायिक अस्पतालको रूपमा स्थापना गरिएको डोब्रा अस्पतालमा काम गर्नका लागी पछिल्लो दश वर्ष देखी एक जना पनि कर्मचारी छैनन् । बनेका संरचना र प्रशासनिक भवनहरू समेत गोरु गोठमा परिणत भएका छन् । स्वास्थ्य सेवा रोकिएको लामो समय भइसकेका कारण अस्पतालको भवनमा जीर्ण हुनुका साथै अस्पतालमा रहेका उपकरणहरूसमेत बिग्रिएका छन् । ‘अस्पतालमा रहेका उपकरणहरू लाखौँ मूल्य पर्ने एक्स-रे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्ची, उपचारका औजारहरू खिया लागेर कतिपय काम नलाग्ने अवस्थामा छन् भने कतिपय उपकरणहरूलाई स्थानीयहरूले तोडफोड गरेर काम नलाग्ने बनाएका छन्,’ स्थानीय मनीषा थापाले भनिन् ।

अस्पताल सञ्चालनमा आएपछि राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट तीन जना,  अनमी एक जना  र दुई जना अहेव पदका कर्मचारी करार सेवामा खटाएको थियो । त्यसपछि उनीहरूको अवधि सकिएपछि अन्य कर्मचारी नहुँदा अस्पतालको यो दुरावस्था सिर्जना भएको स्थानीय बताउँछन् । व्यवस्थापन समिति मार्फत सञ्चालन गर्ने गरी जिल्ला कै दोस्रो सुविधा युक्त अस्पतालको रूपमा निर्माण भएको थियो । तर, अस्पताललाई सञ्चालनका लागी कतैबाट पहल नहुँदा एक दशकदेखि अस्पताल बेवारिसे अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य खड्क रावलले बताए । उनले भने ‘स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र स्तरमा अस्पताल सञ्चालनका लागी पटक पटक पहल गरे पनि सुनुवाइ भएन । अस्पताल बन्द भएपछि छबिस क्षेत्रका स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम र बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता रहेको छ ।’



अस्पताल सञ्चालन हुनुपर्ने स्थानीयको माग छ । ‘पहिला बिरामी पर्दा घर नजिकै उपचार पाइएला भनेर घरपरिवारका सबै सदस्यले दिनरात नभनी श्रमदान गर्‍यौँ, अहिले अस्पतालको हालत यस्तो छ,’ स्थानीय सुनिता भण्डारीले भनिन्  ‘गाउँपालिकाका जनप्रतिनिधिहरुले थोरै स्वास्थ्यकर्मी राखेर भए पनि अस्पताल सञ्चालन गरिदिए हुन्थ्यो ।’ अस्पताल सञ्चालनका लागी सहयोग गरिदिन भनेर स्थानीयले माग गरिरहेका छन् । तर, नेताहरूलाई अनुरोध गर्दा आश्वासन मात्रै दिने गरेको स्थानीय कृष्ण बहादुर रावलले बताए ।  



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १३:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया