ब्याटिङ नचल्दा नामिबियाविरुद्ध नेपाल पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक सिरिजमा नामिबियाविरुद्ध नेपाल ४० रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । 

नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए पनि जित दिलाउन भने सकेनन् । ८४ बलमा नटआउट रहेका उनले दुई चौकाको सहयोगमा ५० रन जोडे । कुशल भुर्तेल २७, आसिफ शेख १४, देव खनालले ३४, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी, आदिल अन्सारी १०/१०, करण केसी १९ र बासिर अहमद तीन रनमा आउट भए ।

नामिबियाका लागि डेविड भिसे, जन फ्राइलिंक र बर्नार्ड स्कोलाड्जले सर्वाधिक दुई/दुई विकेट लिए । त्यसअघि स्कटल्याण्डको एयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनायो ।

उसका लागि जन निकोल लोफ्टी–इटनले अर्धशतकीय पारी खेले । ६९ बलको सामना गरेका इटनले पाँच चौका र एक छक्कासहित ६० रन बनाए । त्यस्तै, दिवान ला ककले ४१, कप्तान गेर्हार्ड इरास्मसले २२, क्रेग विलियम्सले २१, डेविड भिसे, लोह्यान्ड्रे लरेन्सले १८/१८ र जेजे स्मितले १७ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले एकरएक विकेट लिए । यो जितसँगै नामिबिया विश्वकप लिग–२ को अंक तालिकामा पाँचौँ  स्थानमा उक्लिएको छ । 

नामिबियाले १५ खेलबाट १६ अंक जोडेको छ । १७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल बुधबार स्कटल्याण्डविरुद्ध खेल्नेछ । विश्वकप लिग–२ मा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ ।  





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार ७:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया