कांग्रेस केन्द्रीय सदस्यको जोड - गठबन्धन साउनमै र टिकट भदौभित्रै टुंग्याऊँ [भिडियो]

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यले कांग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका हुन् । 

केन्द्रीय सदस्यले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले अगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् । नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

त्यस्तै, विगतको गठबन्धनबाट पाठ सिकेर साउनभित्रैमा गठबन्धनको विषयमा टुंगो लगाउनुपर्ने र भदौभित्रैमा पार्टीको टिकटको टुंगो लगाइसक्नुपर्नेमा नेताहरूले जोड गरेको प्रवक्ता महतले जानकारी दिए । 

'स्थानीय निकायमा निर्वाचन भयो त्यहाँ निर्वाचनको अनुभवलाई आधार मानेर कहाँ कमी, कमजोरी रहे, गठबन्धन भएको ठाउँमा पनि कार्यान्वयनको सिलसिलामा के–कस्ता कमी, कमजोरी रहे, त्यसलाई पनि मध्येनजर राखेर यो साउनभित्र नै गठबन्धनको टुंगो लगाउने र भदौभित्र नै पार्टीको टिकट टुंगो लगाइसक्नु पर्छ । समयमा त्यो भयो भने हाम्रा आफ्ना कुरालाई समयमै स्पष्ट ढंगबाट जनताको बीचमा राख्न सकिन्छ । र, परिणाम राम्रो आउँछ भन्ने कुरा भयो’ उनले भने ।

उनले पार्टीप्रतिको असन्तुष्टि र फरक मत बाहिर नराख्न नेताहरूलाई आग्रह गरिएको बताए । उनले असन्तुष्टि पार्टी बैठकमा राख्न आग्रह गरिएको जानकारी दिए । पार्टी एकतावद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्नु नहुने उनको भनाइ छ । 

उनले भने – ‘जति पनि पार्टीभित्रका असन्तुष्टि अथवा फरक मतका विषयवस्तु छन् । केन्द्रिय समितिभित्रै ती कुराहरु राखिदिँदा राम्रो हुन्छ । त्यसो भयो भने हाम्रो एकता र हाम्रो लक्ष्यप्रति हामी सबै एकजुट छौँ भन्ने सन्देश जनताका बीचमा जान्छ । केन्द्रीय समितिमा छलफलमा कुनै पनि विषय प्रवेश गराउन कुनै अफ्ठ्यारो छैन । केन्द्रीय समितिमा बोल्न पाइएन त्यस कारण अन्त गएर बोल्नुपर्ने, भन्नुपर्ने स्थिति छैन ।’



प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष सन्तोषजनक रहेको बताए । सरकारले भ्रष्टाचार रोकेको बताए । त्यसैगरी कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश निति सञ्चालन गर्न सफल भएको उनको भनाइ छ । 

‘एक वर्षको हाम्रो अनुभव सन्तोषजनक ढंगले सरकार चलेको छ । कतिपय उपलब्धि यो सरकारले हासिल गरेको छ । कोभिडको व्यवस्थापन भएको छ । ठूलो भ्रष्टाचार एकपछि अर्को काण्डैकाण्ड भएको अवस्था थियो त्यो रोकिएको छ । वैदेशिक नीतिमा अन्यौल थियो । एमसीसी पारित भएको छ । र, सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भएको छ,' उनले भने, 'समग्रमा सन्तोषजनक छ । हामीले असन्तुष्ट हुनुपर्ने कारण छैन ।’



पार्टी केन्द्रीय समिति बैठकमा नेताले महँगी नियन्त्रण गर्न र मलको सहज आपूर्तिका लागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए ।

भिडियो

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १९:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया