logo-img

युरोकप क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई स्पेनको चुनौती

महिला युरोकपको पहिलो क्वार्टरफाइनलमा आज समूह ‘ए’ को विजेता इंग्ल्याण्डले समूह ‘बी’ को उपविजेता स्पेनको सामना गर्दैछ । ब्राइटनको एमेक्स स्टेडियममा हुने खेल राति नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ । 

यो खेल आयोजक इंग्ल्याण्डका लागि युरोकपमा अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा हुनेछ, किनभने स्पेन उपाधिको दाबेदारमध्ये एक टोली हो ।

समूह चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्याण्डले तीनै खेलमा जित हात पार्दा १४ गोल गरेको थियो । उसले एक गोल नबेहोर्दै १४ गोल गरेको हो । पछिल्लो १७ खेलयता अपराजित इंग्ल्याण्डलाई घरेलु मैदान र समर्थकले पनि केही फाइदा पुग्नेछ । 

इंग्लिस कप्तान लेह विलियमसन भन्छिन्, ‘हामीले समूह चरणमा जुन प्रकारको मजबुत खेल प्रदर्शन गरेका छौं, त्यसले समर्थकमा आत्मविश्वास बढाएको छ । हाम्रो खेलबाट सबै खुसीका साथै आनन्द महसुस गरिरहेको हुनुपर्छ ।’ स्पेनको खेल भने समूह चरणमा अपेक्षा गरिए अनुसारको हुन सकेन । 

जर्मनीसँग पराजित उसले फिनल्याण्डलाई सहजै हराए पनि डेनमार्कविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । स्पेनले समूह चरणमा पाँच गोल गर्दा तीन गोल बेहोर्‍यो । तर, इंग्ल्याण्ड जस्तै स्पेन पनि विरलै मात्र पराजित हुनेगर्छ, जर्मनीविरुद्ध उसको हार, सन् २०२० को मार्चयता पहिलो थियो । 

योसँगै उसको २४ खेलसम्मको अपराजित यात्रामा टुंगो लाग्यो । स्पेनको खेलको सबैभन्दा ठूलो विशेषता बलमाथि सक्दो बढी नियन्त्रण राखेर खेल्ने हो । समूह चरणमा स्पेनको प्रदर्शन अपेक्षा अनुरूपको हुन नसक्नुको प्रमुख कारण हो बलुन ‘डि’ ओर विजेता एलेक्सिया पुटेलास र सर्वकालीन उच्च गोलकर्ता जेनिफर हेर्मोसोको अनुपस्थिति । 



चोटका कारण युरोकप गुमाएका पुटेलास र हेर्मोसोको अनुपस्थिती स्पेनको टोलीमा नराम्ररी खट्किइरहेको स्पष्टै देख्न सकिन्छ । हुन त समस्या इंग्ल्याण्डको टोलीमा पनि नभएको होइन । उनीहरू यस्तो महत्वपूर्ण खेलमा पनि आफ्ना मुख्य प्रशिक्षक सरिना वेगमनबिनै मैदान उत्रिनुपर्ने हुनसक्छ । 

कोरोना संक्रमणका कारण नर्दन आयरल्याण्डविरुद्धको खेलमा अनुपस्थित भएकी वेगमन आज पनि डगआउटमा हुने सम्भावना निकै कम छ । ‘मेरो विचारमा यो हाम्रा लागि जारी युरो कपमा सबभन्दा कठिन खेल हुनेछ । किनकी इंग्ल्याण्ड निक्कै राम्रो लयमा छ,’ स्पेनका प्रशिक्षमक जर्ज भिल्डाले भने, ‘उनीहरू आफ्नै देशमा घरेलु समर्थकका साथ मैदान उत्रिनेछन् ।’ 



‘तर, उनीहरूको त्यही बलियो पक्षले हामीलाई पनि केही गर्ने उर्जा प्रदान गर्नेछ । हामीलाई चुनौती मनपर्छ । त्यही चुनौती सामना गर्ने भावनाका साथ हामी विजयी नतिजा निकाल्नका लागि मैदान उत्रिनेछौं । तत्कालका लागि हाम्रो पहिलो लक्ष्य सेमिफाइनल हो’, उनले थपे ।  

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १३:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया