छाडा पशुचौपायका कारण कैलाली र कञ्चनपुरमा तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ ।

 ‘छाडा पशु चौपायलाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कौललीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जंगली जनावरबाट बच्न सडकमा आउने र त्यसले सवारी दुर्घटना हुने गरेको छ ।’ स्थानीय निकायले पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा यस्तो समस्या भएको उनको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष कैलालीमा छाडा पशु चौपायका कारण ३७ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । पशु चौपायका कारण भएको सवारी दुर्घटनामा गत वर्ष २८ चौपायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले बताए । उनका अनुसार गत वर्ष पशु चौपायासँग सवारी ठोकिँदा ४२ मानिस र ९ पशु चौपाया घाइते भएका थिए ।

पशु चौपायका कारण रातिको समयमा बढी सवारी दुर्घटना हुने गरेको सूचना अधिकारी पालले बताए । ‘दिउँसो जंगलमा गएका चौपाया पनि रातको समयमा सडकमा आउने गरेको देखिएको छ,’ सूचना अधिकारी पालले भने, ‘सवारीको गति पनि राति नै बढी हुन्छ, चौपाया नदेखेर वा नजिकै पुगेपछि मात्रै चौपाया देख्दा सवारी रोक्न नसकेर दुर्घटना हुने गरेको छ ।’

तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

कैलाली कञ्चनपुरमा छाडा पशु चौपायका कारण तीन वर्षमा ६९ सवारी दुर्घटना हुँदा ६ मानिस र ५७ चौपया मरेका छन् । तीन वर्षमा छाडा चौपायका कारण भएको दुर्घटनामा ८२ मानिस र १५ चौपाय घाइते भएका छन् । 



प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा चौपायका कारण १० वटा सवारी दुर्घटना भएका थिए । सो वर्ष भएका दुर्घटनामा परी ७ चौपाय मरेका थिए भने १० मानिस घाइते भएका थिए । 

आर्थिक वर्ष २०७७–०७८ मा छाडा चौपायका कारण १८ सवारी दुर्घटना हुँदा २ मानिस, १७ चौपाया मरेका थिए भने, २५ मानिस र १ चौपाया घाइते भएका थिए ।



प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार गत आर्थिक वर्षमा पशु चौपायका कारण ३७ सवारी दुर्घटना हुँदा ३ मानिस र १८ चौपायाको मृत्यु भएको छ । 

गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी ४२ मानिस र ९ चौपाय घाइते भएको उनले बताए । चालू आर्थिक वर्षको साउनमा मात्रै पशुचौपायसँग ठोक्किएर ४ सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी १ मानिस र ५ चौपाय मरेका छन्, भने ५ मानिस र २ चौपाय घाइते भएका छन् । 

  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १९:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया