logo-img

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: खोटाङले जित्यो ११ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  प्रदेशस्तरीय  प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तोलनमा एक/एक वटा स्वर्ण पदक प्राप्त भएको हो । 

जिल्ला खेलकुद विकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सन्जीता राईले स्वर्ण पदक जितेका छन् । यस्तै, कुमुते ५५ केजी समूहमा विद्याकला राई, ६१ केजी समूहमा कञ्चन नेपाली, ६८ प्लस तौल समूहमा मिसडोना राई र ७५ केजी तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् । 

पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तोलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । 

स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । यस्तै, महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएकी छन् ।

प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ११:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया