logo-img

किसान श्रेष्ठ र जितेन्द्र सोनललाई आयोगले सोध्यो १२ घण्टे स्पष्टीकरण

स्थिर समय (मौन अवधि)मा पनि घरदैलो  कार्यक्रमको आयोजना गरेको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान एवं क्षेत्र ४ (२)का प्रदेशसभा सदस्य पदका उम्मेदवार जितेन्द्र सोनलसँग स्पष्टीकरण सोधेको छ । 

आयोगले निर्वाचनको स्थिर समय (मौन अवधि) सुरू भइसकेको अवस्थामा पनि प्रचारप्रसार गरेको भन्दै दुवैजनासँग स्पष्टीकरण सोधेको हो । आयोगले दुवैजनालाई एकै व्यहोराको पत्र लेख्दै १२ घण्टाभित्र जवाफ दिन भनेको छ । 

'तपाईंले निर्वाचन आचारसंहिताविपरीत हुने गरी मौन अवधिमा घरदैलो गरेकोबारे समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेखिएको छ,’ आयोगले भनेको छ,‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने’ व्यवस्था छ। आचारसंहिताको त्यही दफाको उपदफा (१) को खण्ड (ग) मा ‘कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ।’

 ‘तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरीत हुने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही नहुनु पर्ने कारण के छ ?,’ आयोगले भनेको छ, ‘पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।’





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १९:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया