logo-img

भावुक वातावरणमा ‘समीक्षावली’ को लोकार्पण

मंगलबार ललितपुर इमाडोलको निजी निवासमा माथि कोठामा विगत बीस महिनादेखि अस्वस्थ भई उपचाररत साहित्यकार बालकृष्ण भट्टराई हुनुहुन्थ्यो भने तल हलमा उहाँकै पुस्तक  ‘समीक्षावली’ को लोकार्पण हुँदै थियो। वातावरण बडो भावुक भावुक रहेको थियो।

सोही भावुकताकै विच दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा साहित्यकार रमा शर्माले साहित्यकार बालकृष्ण भट्टराईको समालोचना सङ्ग्रह ‘समीक्षावली’ को एक समारोहबीच लोकार्पण गर्नुभयो । साहित्यकार सूब सेनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राडा भागवत ढकालले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो । प्रमुख अतिथि रमा शर्माले त्रिभुवन विश्वविद्यालयमा लामो समय सहकर्मीका रूपमा रहेको चर्चा गर्दै कृतिकार भट्टराईले साहित्य र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्नुभयो । 

ठाकुर शर्मा भण्डारीले स्वागत गर्नुभएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार श्रीओमश्रेष्ठ रोदन, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार भट्टराई शिक्षा र साहित्यका क्षेत्रमा एक समर्पित निष्ठावान् व्यक्तित्व भएको बताउनुभयो । कृतिकारका सुपुत्र तथा प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा सञ्चालित कार्यक्रममा साहित्यकारहरू जय छाङ्छा, किशोर पहाडी, गुप्तबहादुर श्रेष्ठ, रामेश्वरी पन्त, अनुराधा ढकाल, अनुपम रोशी, जयन्ती स्पन्दन, कमलप्रसाद ज्ञवाली, रामकाजी कोने,डा. नम्रता पाण्डे, डा. प्रद्युम्न पाण्डे, जयदेवकृष्ण श्रेष्ठ, सिर्जना ज्ञवाली, प्रदीप पाण्डे, लक्ष्मण बस्याल, किशोर पाण्डे, सुमन पाठकलगायतको उपस्थिति रहेको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानको २०९औँ कृतिका रूपमा प्रकाशित ‘समीक्षावली’ मा लक्ष्मीप्रसाद देवकोटा, जगदीशशमशेर राणा, तीर्थराजअधिकारी, भद्रकुमारी घले, सूब सेन, अजम्बरध्वज खाती, प्राडा कपिल लामिछाने, नीलाम्बर पन्थी र सुनीता कार्कीका कृतिहरूको समालोचना–समीक्षा गरिएको छ ।

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्