logo-img

राजस्थानविरुद्धको जितले दिल्लीको प्लेअफ सम्भावना जीवितै, आज हैदराबाद र लखनउ भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको प्लेअफ सम्भावना जीवितै रहेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई २० रनले हराएपछि दिल्लीको प्लेअफ सम्भावना जीवितै रहेको हो ।

दिल्लीले अब लिग चरणको दुई खेल खेल्न बाँकी छ । ती दुई खेलमा जित हात पार्न सके उसले प्लेअफको यात्रा गर्ने सम्भावना उच्च छ । ​राजस्थानको प्लेअफ यात्रा लगभग सुरक्षित भइसकेको छ ।

उसले ११ खेलबाट १६ अंक जोडिसकेको छ । आफ्नो ११औँ खेलमा दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । उनले ४६ बलमा आठ चौका र ६ छक्कासहित सर्वाधिक ८६ रन बनाए । 



यस्तै, रियान परागले २७, सुभम दुवेले २५, जोस बटलरले १९ र रोभम्यान पावेलले १३ रन जोडे । दिल्लीका लागि खलील अहमद, कुलदीप यादव र मुकेश कुमारले दुई/दुई तथा अक्षर पटेल र रशिख सलामले एक/एक विकेट हात पारे । 

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका लागि ज्याकफ्रेजर म्याकगुर्क र अभिषेक पोरेलले उत्कृष्ट ब्याटिङ गरे । 



३६ बलको सामना गरेका पोरेलले सात चौका र तीन छक्काको सहयोगमा ६५ तथा २० बलको सामना गरेका म्याकगुर्कले सात चौका र तीन छक्काको मद्दतमा नै ५० रनको पारी खेलेका हुन् । 

यस्तै, ट्रिस्टन स्टब्सले ४१, गलबन्दिन नाइबले १९, अक्षर पटेल र कप्तान ऋषभ पन्तले १५/१५ रनको योगदान दिए । राजस्थानका लागि रविचन्द्रन आश्विनले तीन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहलले एक/एक विकेट लिए । 

यो जितपछि दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट १२ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको राजस्थानले ११ खेल खेल्दा आठमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

आइपिएलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका ७ः४५ देखि हैदराबादमा हुनेछ ।    

  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार ७:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया