यस्तो छ कतार विश्वकपमा आज खेल्ने ८ टोलीबीचको विगत

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘सी’ र ‘डी’ को समान दुई खेल हुन लागेका हुन् । 

आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल नेपाली सययअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको अर्जेन्टिना र साउदी अरेबिया लुसेल स्टेडियममा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । समूह ‘सी’ अन्तर्गतकै अर्को खेलमा पोल्याण्ड र मेक्सिको खेल्नेछन् ।

यो खेल राति पौने ९ः४५ बजे सुरु हुनेछ । दुवै टोली स्टेडियम ९७४ मा हुने खेलमा जित हात पार्दै विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् ।

साँझ ६ः४५ मा समूह ‘डी’ अन्तर्गत हुने खेलमा डेनमार्क र ट्युनिसिया प्रतिस्पर्धा गर्दैछन् । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । राति १२ः४५ बजे हुने समूह ‘डी’ कै अर्को खेलमा साबिक विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्दैछ ।

अल जनुब स्टेडियमा जित हात पार्दै उपाधि रक्षा अभियानको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । अस्ट्रेलिया पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । 



आज खेल्ने टोलीबीचको विगत

१० वर्षपछि भिड्दै अर्जेन्टिना र साउदी अरेबिया 



यी दुई १० वर्षपछि एकअर्काको सामना गर्दैछन् । अर्जेन्टिना र साउदी अरेबियाले हालसम्म चार खेलमा एक अर्कोको सामना गर्दा अर्जेन्टिनाले दुई खेल आफ्नो पक्षमा पारेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।

सन् १९८८ मा बाइसेन्टेनियल गोलडकप अन्तर्गत भएको पहिलो खेलमा यी दुईले २–२ को बराबरी खेलेका थिए । ​सोही प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा भने अर्जेन्टिना २–० ले विजयी भयो । 

सन् १९९२ को फिफा कन्फिडेरेसन कपअन्तर्गत भएको खेलमा अर्जेन्टिना ३–१ ले विजयी भएको थियो । ​मैत्रीपूर्ण अन्तर्राष्ट्रियअन्तर्गत सन् २०१२ मा भएको पछिल्लो भेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

अर्जेन्टिना आज जित हात पार्दै साउदीविरुद्ध आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुने छ भने साउदी पनि अर्जेन्टिनालाई स्तब्ध बनाउँदै पहिलो जित निकाल्ने सोचमा छ । 

४४ वर्षपछि मेक्सिकोविरुद्ध जित निकाल्ने लक्ष्यमा पोल्याण्ड 

आज मैदानमा उत्रिँदा पोल्याण्ड ४४ वर्षपछि मोक्सिकोविरुद्ध जित निकाल्ने प्रयासमा हुने भने मेक्सिको पनि पोल्याण्डविरुद्ध लामो समयदेखिको अपराजित यात्रा कायम राख्न सोचमा छ ।

पोल्याण्ड र मेक्सिकोले हालसम्म आठ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा दुवै टोलीले समान तीन  जित हात पर्दा दुई बराबरीको नतिजा निस्किएको छ ।

यी दुईले पहिलोपटक सन् १९७३ मा एकअर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पोल्याण्ड १–० ले विजयी भयो । यही वर्ष भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि पोल्याण्ड २–१ ले विजयी भएको थियो । 

सन् १९७८ को फिफा विश्वकपमा पनि पोल्याण्डले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसयताका भेटमा भने पोल्याण्डले मेक्सिकोविरुद्ध जित निकाल्न सकेको छैन । 

१९७८ यता भएका पाँच खेलमध्ये मेक्सिकोले तीन जित निकाल्दा दुई बराबरमा सकिएको छ । सन् १९८५ को मैत्रीपूर्ण खेलमा मेक्सिकोले ५–० को फराकिलो जित निकाल्यो । 

१९८९ को मैत्रीपूर्ण खेलमा पनि मेक्सिको ३–१ ले विजयी भयो । २००५ र २०११ को मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलअन्तर्गत २०१७ को पछिल्लो भेटमा मेक्सिको १–० ले विजयी भएको थियो ।  

२० वर्षपछि एक अर्काको सामना गर्दै डेनमार्क र ट्युनिसिया 

डेनर्माक र ट्युनिसिया २० वर्षपछि एकअर्काविरुद्ध मैदानमा उत्रिँदै छन् । यी दुईले हालसम्म मात्र एक खेलमा प्रतिस्पर्धा गरेका छन् । २००२ को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा डेनर्माक २–१ ले विजयी भएको थियो । 

लगातार दोस्रो विश्वकपमा भिड्दै फ्रान्स र अस्ट्रेलिया

फ्रान्स र अस्ट्रेलिया लगातार दोस्रो विश्वकपमा एकअर्काको सामना गर्दैछन् । यी दुईले हालसम्म पाँच खेलमा एक अर्काको सामना गर्दा फ्रान्सले तीन तथा अस्ट्रेलियाले एक जितको नतिजा निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक सन् १९९४ मा एक अर्काको सामना गरेका थिए । किरिन कपअन्तर्गत भएको उक्त खेलमा फ्रान्स १–० ले विजयी भएको थियो ।

सन् २००१ को कन्फिडेरसन कपमा अस्ट्रेलियाले १–० को जित हात पार्दा सोही वर्ष भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ को बराबरी खेले ।

सन् २०१३ को मैत्रीपूर्ण खेलमा फ्रान्सले ६–० को फराकिलो जित हात पार्यो । सन् २०१८ को फिफा विश्वकपअन्तर्गत भएको पछिल्लो भेटमा पनि फ्रान्स २–१ ले विजयी भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ११:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया