logo-img

प्रहरीकाे 'चेन अफ कमाण्ड'मा गृहमन्त्रीकाे झेल : सिनियरलाई पन्छाएर जुनियरलाई बढुवा गर्न चलखेल

सुशासनकाे नारा लगाएर टेलिभिजन प्रस्ताेता हुँदै उपप्रधानमन्त्रीसम्म बन्न सफल भएका गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीकाे बढुवामा अनावश्यक हस्तक्षेपकाे प्रयास गरेका छन् । 

गृहमन्त्री रवि लामिछानेले प्रहरीकाे 'चेन अफ कमाण्ड'मा नै असर पर्ने गरी दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई चर्को दबाब दिएका हुन् । 

नेपाल प्रहरीमा रिक्त रहेकाे तीन प्रहरी नायव महानिरीक्षक (डिआइजी)को दरबन्दीमा लामिछानेले सिनियरलाई पन्छाएर जुनियरलाई बढुवा गर्न आइजिपी कुँवरलाई दबाब दिएका हुन् । आजीपी कुँवर वैशाख ९ गते इन्टरपोलको महासभामा भाग लिन फ्रान्स उड्नुअघि गृहमन्त्री लामिछानेले उनलाई मन्त्रालयमा बोलाएर जसरी पनि दानबहादुर कार्की र डा. मनोज केसीलाई डिआइजीमा बढुवा गर्न दबाब दिएका हुन् ।



वैशाख ३ मा उमेशराज जोशी र भीम प्रसाद ढकाललाई एआइजीमा बढुवा सिफारिस भएका थिए । अर्का डिआइजी विकाशराज खनाल ५६ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि तीन डिआइजीको दरबन्दी रिक्त भएको हाे । उक्त दरबन्दीमा बढुवाका लागि भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल छन् । त्यस्तै, मेरिट लिस्टको पाँचौँ नम्बरमा सिद्धी विक्रम शाह, छैटौँमा सुशील सिंह राठौर र सातौँ नम्बरमा उमाप्रसाद चतुर्वेदी छन् । 

अघिल्ला तीनजना आइजिपी कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका एसएसपी हुन् । बढुवा सूचीको १ नम्बरमा रहेका कृष्णहरि शर्मा पोखरेल आइजिपी कुँवरभन्दा पछिल्लो ब्याचका हुन् । पोखरेल २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेका थिए । पाँचाैँ नम्बरपछिका एसएसपीहरू भने राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुन् । उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । भोलाबहादुर रावल र ध्रुवराज राउत २०७८ मंसिर १२ मा एसएसपी भएका हुन् ।

गृहमन्त्री लामिछानेले भने नेतृत्व विकासका लागि भन्दै कार्की र डा. केसीलाई बढुवा गर्नुपर्ने दबाब दिएको स्रोतकाे दाबी छ । उनीहरू दुवै जना २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । 



आइजिपी कुँवरले भने आफ्नै ब्याचका प्रहरी अधिकृत रहँदारहँदै तलको ब्याचलाई माथि ल्याउँदा ‘चेन अफ कमान्ड’ र प्रहरीको मनोबलमा समेत असर गर्ने भन्दै अहिले हतार नगर्न भन्दै गृहमन्त्री लामिछानेलाई जवाफ दिएका थिए ।  

यस विषयमा आइजिपी कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जानकारी गराइसकेका छन् । लामिछानेले विधि र पद्धतिविपरीत तारन्तार दबाब दिएकाे भन्दै प्रधानमन्त्रीसँग आइजिपीले गुनासाे गरेपछि प्रधानमन्त्री दाहालले यस विषयमा आफूले गृहमन्त्री लामिछानेसँग सोधपुछ गर्ने र प्रहरीको मनोबल नखस्किने गरी बढुवा सूची प्रकाशित गर्ने आश्वासन कुँवरलाई दिएकाे स्राेतकाे जानकारी दियाे ।



  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया