प्रचण्डले अबको सरकारको नेतृत्व गर्छु भन्ने आधार के हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि अबको सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् । ४ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरेर कूल ३२ सिट जितेको माओवादी केन्द्रले तत्काल सरकारको नेतृत्व गर्छ भन्दा धेरैले पत्याएका छैनन् ।

सत्ता गठबन्धनमा रहेर चुनावमा होमिएको माओवादी केन्द्र अबको संसदमा तेस्रो शक्ति त बनेको छ तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले उसलाई साथ नदिँदा उसले सरकारको नेतृत्व गर्ने सम्भावना न्यून छ ।

तर, प्रचण्डले अब आफूले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले यो दाबीसँगै अर्को दाबी पनि गरेका छन्– संसदमा नेकपा माओवादी केन्द्रको ६० सिटमा होल्ड छ ।

के प्रचण्डले तत्काल सरकारको नेतृत्व गर्दैछन् ? उनले के आधारमा यस्तो बताएका हुन् ?

‘प्रचण्डले अहिले नै सरकारको नेतृत्व गर्ने सम्भावना देखिँदैन,’ कांग्रेसका एक नवनिर्वाचित सांसदले फरकधारसँग भनेका छन्, ‘अहिलेको गठबन्धनलाई कायम राखेर अगाडि बढ्ने हो भने जनताको मतअनुसार कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्छ । फेरि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्रीमा दोहोरिन चाहेको यो अवस्थामा प्रचण्डले त्यो अवसर पाउने सम्भावना न्यून छ ।’

तर, माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग आलोपालोमा सरकार बनाउने र पहिले आफूले नेतृत्व गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।



‘आलोपालोमा पहिले आफूले नेतृत्व गर्न पाउनु पर्छ भनेर प्रचण्डले देउवासँग माग गरिरहेका छन्, यही आधारमा उनले आफूले सरकारलाई नेतृत्व गर्छु भनेको पनि हुनसक्छ,’ ती नेताले भने, ‘यसका लागि उनले नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाललाई पनि आफ्नो साथमा लिएका छन् ।’

कांग्रेसलाई दबाब दिन माओवादी केन्द्रले नेकपा एमालेको कार्ड पनि खेलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले त्यसैले संवाद बढाएका छन् । उनी गोरखा २ बाट निर्वाचित भए लगत्तै तत्कालीन नेकपा विघटन भएपछि पहिलो पटक ओलीले उनलाई फोन गरेर बधाई दिएका थिए ।



७ मंसिरमा भएको त्यो फोन कलका कारण प्रचण्डले ओलीसँग फेरि मिलेर सरकारको नेतृत्व गर्ने वैकल्पिक तयारी पनि गरेका छन् । उनको यही तयारीस्वरुप माओवादी केन्द्रका महासचिव देव गुरुङले केही दिनअघि ओलीलाई बालकोटमा पुगेर नै बधाई दिएका थिए । यो भेटघाटमा आफ्नो सरकार निर्माणको विषयमा केही कुरा नभएको गुरुङले बताएका त थिए तर यो भेटलाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको अनौपचारिक वार्ताको सुरुवातका रुपमा लिन थालिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा संवैधानिक निकायहरुमा नियुक्तिहरुलाई शक्ति बाँडफाँटका आधारमा तय गरेर अगाडि बढ्ने प्रस्तावसहित प्रचण्डले ओलीलाई साथ दिन अनुरोध गरेका छन् । तर, ओली प्रचण्डप्रतिको आशंका र संशय अहिले नै कम भइसकेको आफूनिकट नेताहरुलाई बताइरहेका छन् ।

कांग्रेससँग बार्गेनिङका लागि प्रचण्डले एमाले कार्ड खेलेको अनुमान धेरैले गरेका छन् ।

  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १३:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया