logo-img

नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसी हितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताएका छन् । 

शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिए । 

उनले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै  सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने– ‘नेपालमा विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ, काभ्रे जिल्लामा स्थानीय निकायबाट जग्गा उपलब्ध गराउने प्रक्रिया भई नै सकेको छ, र शिक्षा मन्त्रालयमा यो विषय पुगेको छ, यो विषय मन्त्रिपरिषदबाट स्वीकृतिमा ढिलाइ भएको खण्डमा मैले आफ्नो ठाउँबाट गर्ने सहयोग गर्नेछु ।’

मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानुन व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित रहेका थिए । 

उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पछिडिएको तप्कालाई पुरयाएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गरे ।



उनले भने, ‘मालवीय संस्थापक रहेको बनारस हिन्दू विश्वविद्यालयको स्थापनाले भारतीय जनताको चेतना वृद्धिमा मात्रै योगदान पुगेको नभई विश्वकै ज्ञानका आकाङ्क्षी ज्ञान र विविध विधामा शिक्षा प्राप्त गरी व्यक्तिगत रूपमा सक्षम हुँदै राष्ट्र र समाजका लागि केही गर्ने शुभअवसर पाएको कुरालाई हामीले बिर्सनु हुँदैन ।’

बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको संख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताए । 



उनले नेपालको सर्वांगीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा पुर्याएको योगदानको प्रशंसा गरे ।

महामना मालवीय मिसन–नेपालका अध्यक्ष जीएम सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गरे । कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । 

  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार २२:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया