logo-img

सातै प्रदेशले पायो मुख्यमन्त्री, कसको राजनीतिक यात्रा कस्तो ?

साट वटै प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन् । यसपटक प्रदेशको नेतृत्व पाएका अधिकांशसँग यसअघि कार्यकारी भूमिकामा रहेका काम गरेको अनुभव पनि रहेको छ ।

हिक्मतकुमार कार्की, मुख्यमन्त्री /  प्रदेश  नं. १
हिक्मतकुमार कार्की प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले प्रदेश १ को नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । कार्कीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाटै सुरू भएको हो ।

उनले लामो समय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको राजनीति गर्दै २०५५ सालमा केन्द्रीय अध्यक्ष समेत भएर काम गरेका थिए ।  २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कार्की २०७१ सालदेखि २०७३ सालसम्म नेकपा एमाले मेची अञ्चल समन्वय कमिटिको इन्चार्जको जिम्मेवारीमा रहेका थिए । 

कार्की झापा क्षेत्र नम्बर ५(१) बाट पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । त्यसबेला प्रदेश १ को पहिलो मन्त्रिपरिषद्‍मा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेर काम गरेको अनुभव रहेका कार्की यसपटक भने मुख्यमन्त्री बन्न सफल भएका छन् । उनी २०२१ साल असोज ११ गते झापा गौरादह मा जन्मेका हुन् ।

सरोजकुमार यादव, मुख्यमन्त्री / मधेस प्रदेश 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । उनीसँग पटकपटक कार्यकारी पदमा पुगेर काम गरेको अनुभव छ । लामो राजनीतिक अनुभव रहेका यादवले संघीयता आएपछि पनि केन्द्र तथा प्रदेशको कार्यकारी भूमीकामा रहे । संघीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका यादव यसअघि मधेस प्रदेशकै सभामुख बन्न सफल भएका थिए । 

उसो त यादवको राजनीतिक यात्रा पनी कार्यकारी भूमिकाबाटै सुरू भएको हो । २४ वर्षकै उमेरमा तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित हुँदै उनले राजनीतिक यात्रा सुरू गरेका हुन् ।  यादवका बुवा पनि राजनीतिमै सक्रिय थिए । उनका बुवा परमानन्दप्रसाद यादव पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया थिए भने  प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता बनेका थिए ।



एकताका सद्भावना पार्टीका महासचिव बनेका मुख्यमन्त्री यादव जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा राजपाका राष्ट्रिय उपाध्यक्षसमेत बने। 

२०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलोपटक स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए । 



२०७० मा सोही क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए । 

मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । सोही प्रदेशमा पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसकेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री बनेका हुन् । 

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ बस्ने यादव विसं २०३० मा जन्मिएका थिए । उनले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । 

शालिकराम जम्कट्टेल, मुख्यमन्त्री /  बागमती प्रदेश
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । धादिङ १ (ख) बाट निर्वाचित उनी यस अघि पनि प्रदेशमै कार्यकारी भूमिकामा रहेका मध्यका एक हुन् ।  उनी यस अघिको कार्यकालमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 

हाल माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज समेत रहेका जम्कट्टेलले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए ।

२०४४ सालमा अखिल छैटौंमा आवद्ध भएर राजनीतिमा यात्रा सुरु गरेका उनले २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्मको काम गर्ने मौका पाएका थिए । 

जमकट्टेल २०६३ सालमा अन्तरिम बिधायक र २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी २०७९ को निर्वाचनमा धादिङ १ को प्रदेश २ बाट विजयी भएका हुन् ।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेलले बीए, बीएलसम्मको अध्ययन गरेका छन् । 

खगराज अधिकारी, मुख्यमन्त्री /  गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर एमाले नेता खगराज अधिकारीले पाएका छन् । प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारी मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीले पनी विद्यार्थी जीवनदेखि नै राजनीति गर्न थालेका हुन् । उनले २०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका थिए । २०३७ सालमा पिएन क्याम्पसमा स्ववियु सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए ।

त्यसको दुई वर्षपछि अनेरास्ववियुको उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनले २०४० सालमा पहिलो पटक पिएन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बने । दोस्रो पटक २०४१ सालमा फेरि क्याम्पसको स्ववियु सभापति बनेका थिए । तत्कालीन समयमा खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका उनी २०३६ सालदेखि नै अर्धभूमिगत रही पार्टी र सङ्गठनका काममा क्रियाशील बने । २०४२ सालमा स्ववियु सभापति हुँदाहुँदै प्रशासनबाट पक्राउ परेका अधिकारीले २०४६ सालसम्म देशका विभिन्न स्थानमा जेलजीवन बिताएका थिए ।

कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका उनी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक केन्द्रीय सदस्य बने । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उनले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बने । 

२०५४ मा उनले दलको सचेतकको जिम्मेवारी पाएका थिए । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी गणतन्त्र स्थापनापश्चात् सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।उनले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी लिएका थिए ।

 २०६५ सालमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनलाई पार्टीले गण्डकी इन्चार्ज, सङ्गठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो । २०७३ सालमा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी पाएका उनी २०७४ सालको आमनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भएका थिए ।

पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्दै उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनी २०१८ साल चैत १३ गते कास्कीको बेगनासमा जन्मिएका हुन् । 

लिला गिरी, मुख्यमन्त्री / लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भए । गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका नेताको रुपमा चिनिन्छन् । गुल्मीमा जन्मिएका गिरी सोही ठाउँबाट विभिन्न आन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रा तय गरेका हुन् । 

२०३४ सालमा परिवारसहित रूपन्देहीमा बसाई सरेपछि उनी कम्युनिष्ट पार्टीमा आवद्धभएर राजनीतिमा सक्रिय भए । २०४६ मा नेकपा मालेको सदस्यता लिएका गिरी पार्टी एकीकरण पश्चात  २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए । 

गिरीसँग कार्यकारी पदमा पुगेर काम गरेको अनुभव छ । उनी २०४९ सालमा तत्कालिन शंकरनगर गाउँ विकास समितिको अध्यक्ष बनेका थिए । २०५६ सालमा एमाले रूपन्देहीको जिल्ला कमिटी उपसचिव भएका गिरी २०६१ मा जिल्ला कमिटी सचिव बनेका थिए । त्यसपछि २०६६ सालदेखि २०६९ सम्म एमाले रूपन्देहीको अध्यक्ष बनेका थिए । 

त्यस्तै २०६९ सालमा एमालेको साविक लुम्बिनी अञ्चल समन्वय कमिटि सदस्य र संगठन विभाग प्रमुख बनेका गिरी  २०७१ सालमा पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष भएर काम गर्ने अवसर पनी गिरीले पाएका थिए । गिरी हाल पार्टीको पोलिटव्यूरो सदस्य र लुम्बिनी प्रदेशका सह-इन्चार्ज छन् ।

उनी २०७४ सालको निर्वाचनमा पनि निर्वाचीत हु्न् । रूपन्देहीको क्षेत्र नं २ (१) बाट पहिलो प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरीले कार्यकारी भूमिका निर्वाह गर्न पाए । केही समय आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी पाएका गिरी पछि प्रदेशको उद्योग वन, पर्यटन, वातावरण मन्त्री बनेका थिए। 

२०७९ सालको निर्वाचनमा पनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित गिरी यस पटक भने मुख्यमन्त्रीका रुपमा नियुक्त भइसकेका छन् । गिरी २०११ सालमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ मा जन्मिएका हुन् । 

राजकुमार शर्मा, मुख्यमन्त्री / कर्णाली प्रदेश 
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । 

नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा विभिन्न मोर्चामा रहेर काम गरेको अनुभव शर्मासँग छ । उनको राजनीतिक यात्रा भने २०४१ मा स्कुल पढ्दै गर्दा अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट सुरू भएको हो । 

२०४३ मा सदरमुकाम मुसीकोट पुगेर विद्यार्थीको एकाइ कमिटी सदस्य हुँदै विसं २०४६ मा पार्टी अध्यक्ष प्रचण्ड महामन्त्री रहेको तत्कालिन नेकपा (मसाल) को साङ्गठनिक सदस्यता लिई २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा राजनीतिमा होमिएका थिए । 

२०४८ मा सर्वहारावादी श्रमिक सङ्गठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसालसहित नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भएसँगै पछि बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधिमा उनी संलग्न भएको बताइन्छ । 

२०५४ मा साविक कर्णालीका जिल्लामा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र विसं २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरे जतिबेला दैलेखमा माओवादीविरुद्ध प्रतिकार अभियान चलाइएको थियो । त्यो बेला उनले जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इञ्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेलेका थिए । 

२०६७ पछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख, पार्टीको जिल्ला कमिटी इञ्चार्ज, २०७८ मा प्रदेश कमिटी अध्यक्ष हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्री बन्न सफल भएका छन् । 

उनले कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका छन् ।  २०२८ भदौ २८  गते रुकुमको चौरजहारी नगरपालिका– १४ मा जन्मिएका मुख्यमन्त्री शर्मा हाल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यका रूपमासमेत काम गर्दै आएका छन् ।

राजेन्द्रसिंह रावल, मुख्यमन्त्री / सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । रावल राजनीतिसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छन् । 

२०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको सुरू भएको हो ।  २०४२ मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउसमेत पेका थिए  । २०४५ मा माक्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उनले काम गरेका थिए । २०४६ को जनआन्दोलनमा रावल तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

२०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज भए । विसं २०५१ मा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा (एमाले) को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल) का रुपमा काम गरेको अनुभव उनीसँग छ । 

 २०६२/२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो । उनी २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गरेका थिए । हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्जका रुपमा रहेका छन् ।

मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । उनी राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्छन् । उनले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेखेका छन् । रावलका कविता संग्रह पनि प्रकाशित छन् । यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन् । उनले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गरेका छन् ।

बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेका छन् । उनी नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा पोख्त छन् । मुख्यमन्त्री रावलले केही समय बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापनसमेत गरेका थिए । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म भने बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा २०२१ जेठ १६ गते भएको हो ।

  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १३:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया