logo-img

बझाङमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको जमानत जफत

बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ८ उम्मेदवारले जमानत जोगाउनसमेत असफल भएका छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् । 

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी सुदूरपश्चिम प्रदेश सभामा विजयी भएका हुन् । भण्डारीले जम्मा ११ हजार ६१२ मत प्राप्त गरे । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । भण्डारी सिंहभन्दा २६६ बढी मतले विजयी भएका हुन् । 

तेस्रो स्थानमा माओवादीका जनक बुढाले ३ हजार ८३१ मतसहित जमानत भने जोगाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएर चौंथो बने पनि जमानत भने जोगाउन सकेनन् । 

त्यस्तै राप्रपाका किशोरकुमार खड्काले २४२ मत पाए । उनले पनि जमानत जोगाउन सकेनन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ मत, जनमत पार्टीकी सुशीला देवी विष्टले २६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८, राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्रबहादुर थापाले ३५ र जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ४४ र नेसनल रिपब्लिक नेपाल पार्टीका कमल घर्तीमगरले २ मत मात्रै पाउँदा जमानत जफत भएको हो । 

बझाङ प्रदेश सभा उपचुनावमा खसेको मतमध्ये २९ हजार ७०५ मत सदर भएको थियो । त्यसको १० प्रतिशत पनि जनमत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।   





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १५:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया