मधेसका मुख्यमन्त्रीले भने- नेपालको विकासमा भारतको योगदान महत्त्वपूर्ण

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। बिहीबार भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आयोजित विशेष समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको उनको भनाइ थियो । नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको मुख्यमन्त्री यादवले बताए । 

मुख्यमन्त्री यादवले भने,‘ठूलो संख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।’

नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए ।

भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको बताउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेशकुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बसोबास गरिरहेका भारतका मित्रहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार २१:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया