logo-img

जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडियो सार्वजनिक, समितिले थाल्यो छानबिन

इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । 

समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । 

उक्त समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ । 

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ । 

जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गरे । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र  सरुवा भएर गइसकेका बताए । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् ।  





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १४:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया