चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।