logo-img

विदेश जाने विद्यार्थी बढे, एक वर्षमा ८० हजारभन्दा बढीले लिए एनओसी

पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गएको साउनदेखि यही २२ चैतसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । 

उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबार मात्रै ६ सय ९ अनलाइन आवेदन परेकामा ५ सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए ।  

उनका अनुसार आवेदन स्वीकृत भएका ५ सय आवेदकले आज एनओसी पत्र पाउनेछन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार २०७८ को वैशाखमा १ हजार ६ सय ९६, जेठमा ४ सय ५६, असारमा ३ हजार १ सय ९, साउनमा ५ हजार ३ सय ४१, भदौमा ५ हजार ८ सय ६०, असोजमा ४ हजार ९ सय ६३, कात्तिकमा ३ हजार ७ सय ५७, मङ्सिरमा ५ हजार ६ सय ९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५ सय १३, फागुनमा १३ हजार ९ सय ७२ र चैतमा १६ हजार ३ सय ४८ जनाले एनओसी लिएका थिए ।

यस वर्षको वैशाखमा १५ हजार ७ सय ७१ र जेठमा १४ हजार ६ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको संख्या बढी छ । हाल औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ । 

अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घट्नुका साथै सेवा प्रवाह सहज र छिटो भएको अनुमति शाखाको दाबी छ । रासस 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १३:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया