logo-img

पाँच वर्षपछि घरमै प्रचण्डलाई स्वागत गरेका लेखराजलाई प्रश्न- माओवादीमै फर्किन लाग्नुभएको हो?

कुनै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम आउने बित्तिकै कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको नेता लेखराज भट्टको घरमा पुग्थे । पछिल्लो समय भने प्रचण्डको बाटो मोडिएको धेरै भयो । 

तर, आज आइतबार कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका प्रचण्ड झन्डै पाँच वर्षपछि लेखराजको घरमा पुगेका छन् । हाल फरक–फरक पार्टीमा रहेका प्रचण्ड र लेखराजले आज पुनः लामो समयपछि सुख–दुःखका कुरा गरेका छन् । 

तत्कालीन नेकपा हुँदै सम्बन्ध चिसिएका प्रचण्ड र लेखराज आपसमा राम्रोसँग भेटघाट नभएको पाँच वर्ष भइसकेको थियो । सुदूरपश्चिम आउने बित्तिकै लेखराजको घर पुग्ने माओवादी अध्यक्ष प्रचण्ड ०७५ सालपछि पटक–पटक सुदूरपश्चिम आए पनि लेखराजको घर गएका थिएनन् । त्यसैमा २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग–अलग बनाइदिएपछि लेखराज भट्ट एमालेतिर लागेका थिए ।

भट्ट एमालेमा गएपछि प्रधानमन्त्री प्रचण्डसँग उनको सम्बन्ध झनै बिग्रिएको थियो । दुई नेताबिच तल्लो स्तरको आरोप–प्रत्यारोपसमेत चलेको थियो । दुवै नेताले एक अर्कालाई ‘दलालदेखि भतुवा’सम्म भन्ने गरेका थिए  ।

कतिपयले लेखराज भट्ट नेकपा माओवादी केन्द्रमा जाने तयारीमा रहेका टिप्पणी गर्न थालेका छन् भने कतिपयले लेखराजलाई फकाउन प्रधानमन्त्री प्रचण्ड उनको घरमा गएका हुन सक्ने अड्कलबाजी गर्न थालेका छन् । यद्यपि भेटघाटमा अहिलेसम्म त्यसको यथार्थ बाहिर आइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले भने ४० वर्षदेखि लेखराज भट्टको घरमा आफ्नो साइनो रहेका कारण आफूलाई सो घरमा प्रवेश गर्ने इच्छा लागेको बताएका थिए । ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ’ भट्टसँग भेटघाट गरेपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनु स्वाभाविक नै भइहाल्यो ।’



प्रधानमन्त्री प्रचण्डले एमाले सचिव भट्टसँग राजनीतिक घटनाक्रमलगायत विषयमा पनि कुराकानी गरेका छन् । भट्ट पहिले माओवादीमै थिए । 



भट्टले पनि प्रधानमन्त्री प्रचण्डलाई घरमा स्वागत गरेको बताए । आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको र चिया खाएर प्रधानमन्त्री दाहाल गएको उनको भनाइ थियो । यो भेटघाट तपाईँलाई माओवादीमै फर्काउने रणनीति हो ? तपाईँ माओवादीमै फर्किन लाग्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा एमाले सचिव भट्टले भने, ‘यो त अलग विषय हो, त्यो विषयमा हामीबिच अहिले कुनै छलफल भएन, त्यो अहिले सम्भावना पनि छैन ।’

नेकपा माओवादी केन्द्रमा छँदा लेखराज प्रचण्डको विश्वास पात्रका रूपमा रहेको माओवादी नेता बताउँछन् । प्रचण्डले जनयुद्ध कालदेखि नेकपा नहुन्जेल सुदूरपश्चिममा माओवादी कमान्ड सम्हालेका थिए ।

लेखराज जनयुद्ध सुरु गर्न प्रचण्डलाई पहिलो बन्दुक दिने व्यक्ति हुन् ।  प्रचण्ड सुदूरपश्चिम आउँदा भट्टकै घरमा बस्ने र खाने गर्थे । तर, नेकपा विभाजनसँगै भट्ट नेकपा एमालेतिर गएपछि दुवै नेताबिच भेटघाट भएको थिएन । 

  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १९:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया