logo-img

आगलागी नियन्त्रणका लागि किन गरिँदैन आवश्यक पूर्वतयारी ?

चैत वैशाखको महिनामा हावा हुरी चल्नु स्वाभाविक प्रक्रिया हो । हावाहुरीका कारण मधेसमा प्रत्येक वर्ष आगलागीका दर्जनौं घटनाहरू हुने गर्छन् । आइतबार मात्रै रौतहट र महोत्तरीका विभिन्न स्थानमा आगलागी हुँदा सर्वसाधारणले लाखौंको भौतिक क्षति बेहोर्नुपर्यो । तरपनि आगलागी नियन्त्रणका लागि स्थानीय तहहरूमा भने पूर्वतयारी केही देखिँदैन । 

सुख्खा मौसम सुरु भएसँगै धनुषा, महोत्तरीलगायत मधेसका अन्य जिल्लाहरुमा  आगलागीका घटनाहरु निरन्तर बढ्ने प्रायः निश्चित छ । तर, अधिकांश स्थानीय तहमा बारुण यन्त्र नहुँदा छिमेकी स्थानीय तहको मुख ताक्नुपर्ने अवस्था आएको छ ।

आगलागी नियन्त्रणका लागि बारुण यन्त्रको व्यवस्थित, विश्वसनीय र प्रभावकारी प्रयोगको व्यवस्था मिलाउन स्थानीय तहमा नगरप्रमुखको संयोजकत्वमा बारुण यन्त्र सेवा सञ्चालन तथा व्यवस्थापन समन्वय समिति गठन गरिएको हुन्छ । प्रत्येक पालिकाबाट बारुण यन्त्र सेवा सञ्चालन तथा व्यवस्थापन गरिने बारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा स्पष्ट उल्लेख छ । 

तर बिडम्बना, महोत्तरीको जलेश्वर नगरपालिकाले भने हावाहुरीको बेलामा बारुण यन्त्र पहिलेदेखि नै तयारी अवस्थामा राख्नुपर्नेमा मरम्मतका लागि पठाएको छ । नगरप्रमुख सुरेश साह सोनारले आइतबार एक सूचना निकाल्दै नगरपालिकाको बारुण यन्त्र बिग्रेर खराब भई आगलागी नियन्त्रण कार्यमा प्रयोग गर्न नसक्ने अवस्थामा रहेको जानकारी गराएका छन् । 

उनले सो बारुण यन्त्र मरम्मतका लागि बाहिर पठाउनुपर्ने भएकोले मरम्मत नभएसम्मका लागि सेवा अवरुद्ध रहने कुरा सूचनामा उल्लेख गरेका छन् । ‘४४.६६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जलेश्वर नगरपालिकाको कूल जनसंख्या ५८ हजार ५४९ रहेको छ । चैत बैशाखजस्तो सुख्खा मौसममा संयोगवश आगलागीका घट्ना घट्यो भने सर्वसाधारण कहाँ जान्छन् बारुण यन्त्र खोज्न ?,’ जलेश्वर नगपालिका वडा नम्बर–१० साडीका सज्जन ठाकुरको प्रश्न छ । उनी भन्छन्, ‘यस पालिकामा आगलागीका घट्ना घटे समयमा बारुण यन्त्र उपलब्ध नहुने निश्चित छ । किनभने नगरपालिकाको बारुण यन्त्र मरम्मत भएर कहिले आउँछ भन्नेबारे सूचनामा नगरप्रमुखले कुनै जानकारी नै दिएका छैनन् ।’

उनले प्रश्न गर्दै भने, ‘के यहाँका नागरिकले नागरिकप्रतिको अभिभावकत्व भूमिका ग्रहण गर्नका लागि सुरेश साहलाई नगरप्रमुख बनाएका होइनन् ? निर्वाचित भएपश्चात् उनको नगरवासीप्रतिको दायित्व यही हो त ? कि सबै ठाउँमा उनलाई कमिसन नै चाहिन्छ ?’



स्थानीय अमित पाण्डे भन्छन्, ‘चैत वैशाख महिनामा जलेश्वर नगरपालिकाको एकमात्र बारुण यन्त्र बिग्रेको देख्दा लाज लाग्नु पर्ने हो । कि त सम्बन्धित कर्मचारीलाई कारबाही गर्नुपर्यो । मेसिनरी गाडी अचानक बिग्रिने कुरा हुँदैन ।’

उनले सूचना निकालेर बारुण यन्त्रको सेवा अवरुद्ध हुन्छ भनेर जानकारी गराउनु भन्दा पनि अर्को निकायबाट वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता र नगरप्रमुखको दायित्व पनि रहेको जिकिर गरे । 



यस सम्बन्धमा नगरप्रमुख साहले जलेश्वर नगरपालिकाको बारुण यन्त्रले जिल्लाका मटिहानी, पिपरा, एकडारा, मनरा सिस्वा, रामगोपालपुरलगायतका पालिकाहरुमा पनि सेवाप्रवाह गरिरहेकोले कहिलेकाँही बिग्रिनु स्वभाविक रहेको बताए । 

उनले मेसिनरी सामान रहेकोले बिग्रको र एक दुई दिनभित्रै मरम्मत गरेर जिल्लाबासीलाई आवश्यक परेको बेला सहज रुपले उपलब्ध गराइने प्रतिबद्धतासमेत जनाएका छन् । नगरप्रमुख साहले जलेश्वर नगरपालिकाको अर्को एउटा बारुण यन्त्र विगत करिब १५ वर्षदेखि बिग्रेर जनकपुरधामस्थित एउटा ग्यारेजमा थन्काइएको जानकारीसमेत दिए । 

उनले उक्त बारुण यन्त्रलाई पनि चाँडै मरम्मत गरेर सञ्चालनमा ल्याइने जानकारी दिए । आगो नियन्त्रणका लागि मिलेसम्म बारुण यन्त्र चाँडै मरम्मत गरेर वा नयाँ किनेर भए पनि सञ्चालनमा ल्याउन जरुरी रहेको स्थानीयको माग छ । 

  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १५:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया