logo-img

योजनाको छानबिन गर्न बनेको समितिले सकेन समयमा काम गर्न

मधेस प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरुको छानविन गर्न गठन गरिएको उच्च स्तरीय संसदीय छानविन समितिले समयमा काम गर्न नसकेपछि समयावधि पुनः बढाइएको छ ।
 
गत फागुन ४ गते उपसभामुख बविताकुमारी राउत इशरको सभापतित्वमा गठन गरिएको समितिलाई ३० दिनको समय दिइएकोमा सो अवधिमा काम गर्न नसकेपछि बैशाख मसान्तसम्मको समय थपिएको हो ।

अर्थमन्त्री सञ्जय यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो । तर, समितिको पहिलो बैठकमै उपसभामुख इशरले पदबाट राजीनामा दिएपछि फागुन १६ गते लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीलाई सभापति बनाइएको थियो ।

समितिले पाएको समयभित्र ४ वटा जिल्लामा मात्र छानबिन गर्न सकेको छ । समितिले बारा, पर्सा, रौतहट र सार्लहीमा स्थलगत निरीक्षण गरेको छ भने महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा बाँकी रहेको सभापति तिवारीले सोमबार बसेको प्रदेशसभा बैठकमा जानकारी दिइन् । उनले ५२९ योजनाको स्थलगत निरीक्षण गर्नुपर्ने भए पनि प्रदेश सरकारले अहिलेसम्म सबै योजनाहरुको फाइल नपठाएको आरोप लगाइन् ।

उनले भनिन्, ‘गत आर्थिक वर्षको योजनाहरुको छानविनका लागि सम्पन्न योजनाहरुको विवरण तथा प्राविधिक कर्मचारी प्रदेश सरकारसँग ७ दिनभित्र माग गर्दा उपलब्ध गराइएन ।’

प्रदेश सरकारले छानविनमा सहयोग नगरेकाले समस्या भएको सभापति तिवारीले आरोप लगाइन् । उनले समितिले करारमा प्राविधिक कर्मचारी तथा विज्ञ भर्ना गरेर योजनाहरुमाथि कामकारवाही प्रारम्भ गरेको बताउँदै बाँकी योजनाहरुको छानविन तथा स्थलगत निरीक्षणका लागि वैशाख मसान्तसम्मको समय मागेपछि समय बढाइएको हो ।

समितिमा प्रदेशसभा सदस्यहरु कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो. समीर, हरिनारायण महतो, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जयनुल राइन, रानी कुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन बिक्षा, विमला अन्सारी, अनिरुध कुमार सिंह र प्रमोद कुमार जैसवाल रहेका छन् ।



सोमबारको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पेस भएको छ । सामाजिक विकासमन्त्री सुरीताकुमारी साहले सो विधेयक पेस गरेकी हुन् । प्रदेशसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगीत भएको छ । 



  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १६:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया