logo-img

चीनलाई एक लाख बाँदर बिक्री गर्दै श्रीलंका

आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन् ।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ । 

श्रीलङ्काले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको यो एशियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ । बिक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन । 

बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ । तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन् । श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ ।

श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदरको राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने बताएको छ ।

फाउन्डेसनका जगत गुणवर्धनाले कोलम्बोमा पत्रकारहरूसँग भने, ‘मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण उनीहरू (चिनियाँ) किन यति धेरै बाँदर चाहन्छन् भन्ने हाम्रो जिज्ञासा रहेको छ ।’



श्रीलङ्कामा बाँदर संरक्षित प्रजाति होइन । तर, त्यहाँ बाँदर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय सङ्कटापन्न वन्यजन्तुको सूचीमा पर्छन् । 



  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ७:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया