कतारकी राजकुमारी अन्नपूर्ण हिमालको चुचुरोमा

कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपरान्ह ४ बजे ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । 

अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।

‘विश्वको दसौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ,’ उनले भने, ‘आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।’  

टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गरेका छन् । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरेकी थिइन् ।  

पेसाले चिकित्सक रहेकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन् । अन्नपूर्ण हिमाल आरोहणका लागि उनी गत २२ फागुनमा म्याग्दी आइपुगेकी थिइन् ।  

कतारको राजपरिवारको सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।   



अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालू वर्षको वसन्त यामको आरोहण सुरु भएको हो । सेभेट समिट ट्रेकका​ पासाङनुर्वु शेर्पाको नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अष्टे«लियन पर्वतारोहीले पनि शनिबार अन्नपूर्ण आरोहण गरेका थिए ।   

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँचवटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दसौँ अग्लो हिमाल हो । वि.सं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । 



मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । 

  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार ९:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया