logo-img

आचारसंहिता उल्लंघन नगर्न सञ्चारमाध्यमलाई काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लंघन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ताे अपिल गरेको हाे ।

प्रचार–प्रसार निषेध सुरु हुनुअघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअंकित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै काउन्सिलले त्यस्तो कार्य नगर्न/नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार १९:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया