logo-img

एमालेपछि लुम्बिनीको नेतृत्वमा कांग्रेस, डिल्ली चौधरी मुख्यमन्त्री बन्ने

लुम्बिनी प्रदेश सरकारले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्री लीला गिरीले सोमबारको प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि लुम्बिनीले नयाँ नेतृत्व पाउन लागेको हो ।

संविधानको धारा १८६ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता मुख्यमन्त्री गिरी नेतृत्वमा गठित सरकारले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।  

उनले संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न यही १४ वैशाख अर्थात् बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । 

गिरी नेतृत्वको सरकार ढलेसँगै नयाँ मुख्यमन्त्री कांग्रेसबाट बन्ने भएका छन् । लुम्बिनी प्रदेश कांग्रेस दलका नेता डिल्ली चौधरी लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।

५३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइसकेकाले उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । चौधरी गत वर्षको ४ मंसिरमा सम्पन्न निर्वाचनमा दाङ–३ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए ।  

उनी एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतान्तरले हराउँदै लगातार दोस्रोपटक निर्वाचित भए । विजयी चौधरीले १९ हजार ८ सय ५० मत ल्याएका थिए ।



उनले यसअघि लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । ०७० सालको संविधानसभाको निर्वाचनमा चौधरी समानुपातिक सांसद थिए । त्यतिबेला उनी श्रम रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।  



  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार ७:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया