जनकपुरधाममा भानुभक्तको स्मारक शिलान्यास, मधेसवादी दलको विरोध

जनकपुरधामको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेसवादी दलहरुले विरोध जनाएका छन् । शनिबार जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले विरोध र विवादकाबीच स्मारकको शिलान्यास गरेको हो । 

नगर प्रमुख मनोजकुमार साहले कडा सुरक्षाकाबीच स्मारक शिलान्यास गरेका छन् । विगतमा भानुचोकमा भानुभक्तको स्मारक रहेकोमा मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले सो स्मारक भत्काएका थिए । भानुभक्तको प्रतिमा भत्याइएपछि जनकपुरधाममा भएको सडक विस्तारमा बाँकी रहेको स्मारक समेत भत्काइएको थियो । 

सडक विस्तार पुरा भएपछि जनकपुरधाम उपमहानगरपालिकाले सो ठाउँमा स्मारक निर्माण गर्न लाग्दा मधेसवादी दलका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन्।


 
मधेस आन्दोलनका सहिद रमेश महतोको नाउमा स्मारक बनाउनुपर्ने भन्दै उनीहरुले विरोध जनाएका छन् । मधेस केन्द्रित दल जसपा, लोसपा र जनमत पार्टीका कार्यकर्ताले शिलान्यासस्थल पुगेर विरोध जनाएका थिए । 

जनकपुरधाम उपमहानगरपालिकाले स्मारक निर्माणका लागि करिब साढे २० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त स्मारक निर्माण गर्न प्रभु जालानको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ । उपमहानगरपालिकाले वार्तामार्फत यस समस्याको समाधान गर्न आह्वान गरेको छ । 

विगतमा समेत त्यहाँ भानुभक्तको प्रतिमा रहेकाले जनभावना अनुसार त्यहाँ भानुभक्तको प्रतिमा निर्माण गर्न लागिएको मेयर साहले बताए । उनले वार्तामार्फत यस समस्याको समाधान गर्न आह्वान गरेका छन् । 



यता, लोसपा नेपालका प्रदेश सचिव रामविनोद चौधरीले मधेसवादी दललाई भानुभक्त आचार्यसँग कुनै द्वेषभाव नरहेको बताए । 

उनले भने, ‘भानुभक्तप्रतिको हाम्रो सम्मान पहिला पनि थियो र सदैव रहिरहने छ । तर, मधेस आन्दोलनको क्रममा सहिद रमेश महतो नामाकरण गरिएको चौकमा पुनः भानुभक्त आचार्यको स्मारक राख्नु मधेस आन्दोलन तथा सहिदप्रतिको सम्मानमा प्रहार भएकोले हामीले विरोध गरेका हौं ।’



  • प्रकाशित मिति : वैशाख १६, २०८० शनिबार १६:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया