चार महिनादेखि खानेपानीको समस्यामा बड्डीज्यावनवासी
फाइल तस्बिर

बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । 

सौर्य ऊर्जा बिग्रिएर धारामा पानी आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् । 

घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको  स्थानीयवासीले जनाएका छन् ।  सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो ।

बड्डीज्यावनकी स्थानीय कलसी धामीले भने, ‘पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ । तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’

खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताए । ‘स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन्,’ उनले भने । बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना वि.सं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।  

तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट १ हजार ५ सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पुर्‍याइएको थियो ।



लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो । तर, गत असारबाटै जिल्लामा परियोजनाको कार्यविधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् । 

बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौंबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडौंबाट प्राविधिक ल्याउन नसकिएको बताए ।



यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भए पनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । सोलार लिफ्टिङबाट सञ्चालन भएको उक्त खानेपानीको सौर्य ऊर्जामा यसअघि गत असारमा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो । पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो ।  

बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले खानेपानी परियोजना मर्मतका लागि पहल भइरहेको जानकारी दिए । उनले त्यहाँका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

पानी ल्याउनुपर्ने ठाउँमा मन्दिर हुँदा महिनावारी भएका महिलालाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै वेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको स्थानीय नन्ता बोहराले बताइन् ।

‘देवताको मन्दिर परिसरभित्रबाट पानी ल्याउनुपर्ने भएकाले महिनावारी भएका बेला हामीले जान हुँदैन । कहिलेकाहीँ पानी बोक्दाबोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाइका लागि घर बाहिर जाने भएकाले अधिकांश घरपरिवारमा महिलामात्रै हुन्छन्,’ उनले भनिन् । 

महिनावारी भएको बेला पानी ल्याउन गएमा देवता रिसाउने डरले पानी नभरेर नै फर्कने गरेको बोहराको भनाइ छ । नगरपालिकाले सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको जनाएको छ । रासस 

  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ७:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया