logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन

जवाफदेहिता निगरानी समितिले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी कानुनी दायरामा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ ।

‘नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने गरेको देखियो’ समितिका संयोजक चरण प्रसाईंले आज प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘संगठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई जवाफदेहिता निगरानी समिति हार्दिक स्वागत गर्दछ ।’

विगत लामो समयदेखि राजनीतिक संरक्षणमा मुलुकभित्र मौलाउँदै गएको भ्रष्टाचार, संगठित अपराध र कुशासनको दुष्चक्रलाई मलजल गर्ने काम भइरहेको यस प्रकरणले उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सत्ताको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउनुका साथै मानव तस्करी, ठगी एवं भ्रष्टाचारजन्य कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले अगाडि बढाएको छानबिन तथा कानुनी प्रक्रियाले जनसमुदायमा कानुनी शासनप्रति आशा र विश्वासको सञ्चार गराएको जवाफदेहिता निगरानी समितिले अनुभव गरेको छ,’ समितिले भनेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण ठगीसम्बन्धी अपराध मात्रै नभएर राज्यशक्तिको चरम दुरुपयोगका साथै मानव तस्करी एवं देश र जनताविरुद्ध गरिएको निकृष्ट विश्वासघात एवं संगठित योजनाबद्ध अपराध भएको समितिको ठहर छ ।

यस प्रकृतिको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा चलखेलमा नफसी उच्च मनोबलका साथ स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी राष्ट्रको विश्वसनीयता, इज्जत तथा प्रतिष्ठा जोगाउन नेपाल प्रहरी र नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समितिले माग गरेको छ । 



कानुनी शासन, मानवअधिकार र न्याय प्रवर्द्धनतर्फका हरेक प्रयत्नलाई जवाफदेहिता निगरानी समिति खुलेर समर्थन र प्रतिरक्षा गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।



  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार २२:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया