महोत्तरीमा गर्मीले जनजीवन प्रभावित

महोत्तरीमा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।  

पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. मनीषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ । सामान्यरूपमा ७०/७५ उपचारका लागि आउने गरेकामा अहिले १ सय ५० देखि २ सय ५० बिरामी उपचारका लागि आउने गरेको उनले बताए ।

उनका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो ।  अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०/६० वर्षमाथिका वृद्धवृद्धा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. भारद्वाजले बताए ।

चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।

अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौं हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।



चर्को घाम र तातो हावाका कारण बिहान १०/११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावस्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बिउ राख्न पाएका छैनन् । 

अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बिउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस



  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १०:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया