logo-img

स्पष्टीकरण दिँदै आरजु राणा, कता हराइन् मञ्जु खाण ?

सामान्यतया कुनै व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि परिवारका अन्य सदस्य प्रहरी कार्यालयमा पुग्छन् र आफ्नो परिवारको सदस्यलाई छुटाउने प्रयास गर्छन् । तर, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण भने यो अवसरबाट वञ्चित भए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई प्रहरीले २७ वैशाखमा पक्राउ गरेको थियो । श्रीमान् पक्राउ परेको एक साता बितिसक्दा पनि श्रीमती मञ्जु खाण श्रीमानलाई छुटाउन पहल गर्नु त परको कुरा भेट्नसमेत गएकी छैनन् । श्रीमान प्रहरीको नियन्त्रणमा परेको थाहा पाएपछि कुलेलम ठोकेकी मञ्जु खाण यतिबेला कहाँ र कस्तो अवस्थामा छिन् भन्ने जानकारी कसैलाई छैन । तर, उनी नेपालबाहिर रहेको गाइगुइँ चर्चा कांग्रेसवृत्तमा चल्ने गरेको छ ।

श्रीमान पक्राउ पर्ने थाहा पाएपछि उनी अस्ट्रेलिया गएको चर्चा चलिरहेको छ । उनी मोबाइल बन्द गरेर सम्पर्कविहीन बनेकी हुन् । पूर्वगृहमन्त्री खाण पक्राउ परेयता दुईपटक प्रतिनिधिसभा बैठक बसेको छ । तर, ती बैठकमा पनि मञ्जुले उपस्थिति जनाएकी छैनन् । मञ्जु प्रतिनिधिसभा समानुपातिक सदस्यसमेत हुन् ।

मञ्जुले नक्कली शरणार्थी प्रकरणमा करिब साढे ६ करोड रुपैयाँ लिएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोको सन्दर्भमा पनि मञ्जुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । सार्वजनिक अडियोको सन्दर्भमा कुनै प्रतिक्रिया नदिनु र नाम जोडिएपछि सम्पर्कविहिन हुनुले उनी पनि यस प्रकरणमा संलग्न छिन् भन्ने आशंकालाई थप बलियो बनाइदिएको छ ।

किनभने सोही प्रकरणमा नाम जोडिएकी कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा निर्धक्क भएर उक्त प्रकरणमा संलग्न नरहेको दाबी गरिरहेकी छिन् । राणाले दुईवटा टेलिभिजनमा अन्तरवार्ता मात्र दिइनन्, प्रतिनिधिसभा बैठकमा उपस्थित भएर उक्त प्रकरणमा आफू संलग्न नभएको र यसको सत्यतथ्य छानबिन हुनुपर्ने मागसमेत राखेकी छिन् । त्यति मात्रै होइन, उनले अन्तर्राष्ट्रिय प्रचलनको दृष्टान्त दिँदै सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरिेकी छन् । 

नक्कली शरणार्थी प्रकरणबारे आरजुले आफू निर्दाेष रहेको दाबी गर्दै विभिन्न टेलिभिजनमा अन्तर्वार्ता र संसदमा स्पष्टीकरण दिइरहँदा सोही प्रकरणमा मुछिएकी मञ्जु भने सम्पर्कविहीन हुनुले आशंकालाई फराकिलो बनाइदिएको छ ।



आरजुलाई साढे २ करोड बुझाएको अडियो बाहिरिएपछि उनले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले कपोलकल्पित ढंगबाट उक्त अडियो ल्याइएको दाबी गर्दै आएकी छन् । उनले उक्त अडियोको सत्यतथ्य पत्ता लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरो पुगेर २७ वैशाखमा उजुरीसमेत दिएकी छिन् ।

मञ्जु यो प्रकरणमा संलग्न नभए सम्पर्कविहीन हुनुपर्ने कुनै जरुरी थिएन । किनभने संलग्न रहेको प्रमाण प्रहरीको हातमा परे उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी तीव्र बनाउँथ्यो । यसैको पछिल्लो उदाहरण हुन्, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी । लुक्दै बसेका रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी भएको ११ दिनपछि ३१ वैशाखमा बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो । त्यसकारण यो प्रकरणमा संलग्न भएको खण्डमा मञ्जुले भागेर कारबाहीको दायराबाट उम्किन पाउने छैनन् ।



राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि मञ्जु एक्कासि सम्पर्कविहीन हुनुले आशंका गर्ने ठाउँ दिएको बताउँछन् । आरोप लागेपछि जिम्मेवारीबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउनु नै पार्टी र व्यक्ति दुवैको हितमा हुने दाहालको सुझाव छ । ‘आपराधिक क्रियाकलापमा संलग्न भए/नभएको अनुसन्धानले देखाउने हो,’ दाहालले भने,‘कुनै पनि व्यक्तिलाई जबरजस्ती संलग्न रहेको देखाउन खोज्नु पनि गलत हो ।’ 

अनुसन्धान गर्ने निकायले नाम संलग्न रहेको उल्लेख गरेको खण्डमा आम नागरिकले दबाब दिनुपर्ने उनले बताए । सामान्यतया पार्टी र व्यक्तिलाई फरक ढंगले हेरिने भएका कारण व्यक्ति र पार्टीलाई एकै ठाउँमा जोडेर हेर्न नहुने उनको भनाइ छ । उनले भने, ‘पार्टीमा कोही असल र कोही खराब व्यक्ति हुन सक्छन् । त्यसलाई पार्टी नै खराब हो भन्न मिल्दैन । पार्टीमा असल व्यक्ति पनि हुन्छन् ।’

बालकृष्ण खाण प्रहरी हिरासतमा हुँदा उनकी पत्नी मञ्जु सम्पर्कविहीन हुनु कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई अनौठो लागेको छ । मञ्जु भागेको वा नभागेको भन्न सकिने अवस्था पनि नरहेको उनले बताए । आरजु देउवाले जसरी मञ्जुले पनि आफूमाथि लागेका आरोपको खण्डन गर्न सक्नुपर्ने उनको भनाइ छ ।

आरोपबारे मञ्जुले खण्डन नगर्दा दोषी नभए पनि यो प्रकरणमा संलग्न भएको आशंका जनमानसमा पर्ने र त्यसको प्रभाव पार्टीमा समेत पर्ने उनले बताए । ‘उक्त आरोपको उहाँले फेस गर्नुपर्ने हो । उहाँ निर्दोष पनि हुन सक्नुहोला । उहाँलाई आरोप मात्र लगाइएको पनि हुन सक्छ ।’ 

तर, सम्पर्कविहीन भएकाले उनी पनि कतै न कतै यो प्रकरणमा संलग्न छन् भन्ने शंका जनमानसमा देखिएकाे केन्द्रीय सदस्य शिवाकोटीले सुनाए । उनले भने, 'जसको नकारात्मक असर पार्टीलाई पर्छ भन्ने कुरालाई बुझेर आफ्नो उहाँले कुरा राख्नुपर्छ, पार्टीको सम्पर्कमा आउनुपर्छ ।’

  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १९:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया