logo-img

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा मिश्रित प्रतिक्रिया
फाइल तस्बिर

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएका छन् । 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो । 

सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रहेको रासायनिक मल कारखाना खोल्ने बहु वर्षीय योजना तयार गरिएको भन्ने शब्द उल्लेख गरेको भन्दै उक्त शब्द हटाएर रासायनिक मलको समयमा व्यवस्थापन गरिनेछ भन्ने कुरा उल्लेख हुनुपर्ने संशोधन दर्ता गरेको बताइन् । उनले बुँदा नम्बर ११७ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम समावेश नगरेको भन्दै बजेटमा भने उक्त कार्यक्रम समावेश गर्न आग्रह गरिन् । उनले नीति तथा कार्यक्रमले सिद्धान्त र प्राथमिकतालाई पक्रन नसकेको बताइन् ।



उनले भनिन्, ‘नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रहेको रासायनिक मल कारखाना खोल्ने बहु वर्षीय योजना तयार गरिएको छ । यो हटाएर रासायनिक मलको समयमा व्यवस्थापन गरिनेछ भन्ने कुरा उल्लेख गर्नुपर्छ । भुलभुलैया वहुवार्षीय आयोजनाका कुरा राखेर काम छैन, समयमा नै किसानका लागि मल व्यवस्थापन गर्नेछौँ भन्ने कुरा उल्लेख गर्दा राम्रो हुन्छ । बुँदा नम्बर ११७ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम समावेश गरिएको छैन, राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार गर्ने कार्यक्रम गरेको थियो, यो कार्यक्रम थप विस्तृत गरेर आउँछ होला भनेको तर यो कार्यक्रमको चर्चासम्म गरिएको छैन । यो कार्यक्रम नीति कार्यक्रममा छुट भएको हो भने पनि बजेटमा आउनुपर्छ । यो नीति तथा कार्यक्रमले सिद्धान्त र प्राथमिकतालाई पक्रन सकेको छैन ।’

राष्ट्रिय सभा सदस्य एवं संशोधन कर्ता विमला घिमिरेले बुँदा नम्बर ३६ मा कृषि उत्पादनमा वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गर्न नबुझिने र गर्न नसकिने खालको वाक्यांश रहेको भन्दै त्यस शब्द हटाएर र खेती गर्न चाहने कृषकका लागि भूमि बैंक स्थापना गरी त्यसमार्फत कृषकलाई जमिन उपलब्ध गराउने कुरा थप्नुपर्ने बताइन् । उनले बुँदा नम्बर ३१ मा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी गरी भन्ने शब्द राखिएकाले त्यसलाई हटाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘बुँदा नम्बर ३६ मा कृषि उत्पादनमा वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गर्न नबुझिने र गर्न नसकिने खालको वाक्यांश छ त्यसैले त्यसलाई हटाएर खेती गर्न चाहने कृषकका लागि भूमि बैंक स्थापना गरी त्यसमार्फत कृषकलाई जमिन उपलब्ध गराउने कुरा थप्नुपर्छ । बुँदा नम्बर ३१ मा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी गरी भन्ने शब्द राखिएको छ, त्यसलाई हटाइ गर्न भन्ने शब्दहरू राखी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कार्यक्रम अघि बढाउन राख्नुपर्छ ।’



राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले विराटनगरको विमानस्थललाई पनि बजेटमा समावेश गर्न आग्रह गरे । उनले  विराटनगरको जुट मिल, पूर्वाञ्चल विश्वविद्यालयको ३ सय बेडको अस्पताल बनाउने कुरा बजेटमा जोड्न आवश्यक रहेको बताए । 

उनले भने, ‘निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य छ, त्यहाँ विराटनगरको विमानस्थललाई पनि जोड्न पाएको भए राम्रो हुन्थ्यो । गोरखकाली रबर उद्योग, हेटौंडा कपडा कारखाना, बुटवलको धागो कारखाना जस्तै विराटनगरको जुट मिललाई पनि जोड्न पाएको भए हुने थियो । गेटा मेडिकल कलेज अघि बढाउने भनेको जस्तै पूर्वाञ्चल विश्वविद्यालयको पनि ३ सय बेडको अस्पताल अघि बढाउने विषय पनि नछुटाउन पाएको भए हुन्थ्यो ।’



बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कुरालाई नयाँ नारा दिएर ल्याइएको बताए । उनले आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने यसअघिको कार्यक्रमको ठाउँमा आफ्नो विद्यालय आफैँ बनाऊँ जस्ता नाराहरू मात्रै राखिएको बताए । उनले प्रधानमन्त्री रोजगार, प्रधानमन्त्री कृषि, विज्ञान कार्यक्रम हटाउन नहुने बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रममा पुरानो कुरालाई नै राखेर नयाँ नाराको फ्लेवरमा आएको पाएँ । आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने थियो, अहिले आफ्नो स्कुल आफैँ बनाऊँ भन्ने छ । त्यसमा के कार्यक्रम दिएको छ । नाराको कुरामा पनि खासै दम देखिएन । एमालेले ल्याएका लोकप्रिय कार्यक्रम हटाएको छ, प्रधानमन्त्री रोजगार, प्रधानमन्त्री कृषि, विज्ञान कार्यक्रम ल्याएको थियो । तर अहिले हटाएको छ । नीति तथा कार्यक्रमले जनतालाई निराश बनाएको छ ।’

बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनमुखी रहेको बताए । उनले समतामूलक र समाजवाद उन्मुख भन्ने संविधानले व्यवस्था गरेको बाटोलाई समातेर नै नीति तथा कार्यक्रम ल्याइएको बताए । 

उनले भने, ‘यो नीति र कार्यक्रम सही छ, सबै विषयलाई छुने गरेर आएको छ । समतामूलक र समाजवाद उन्मुख भन्ने संविधानले जुन अर्थव्यवस्थाको दिशा निर्देश गरेको छ, त्यही आधारमा कार्यक्रम ल्याइएको छ ।’ 

  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १६:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया