logo-img

योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताए । 

त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले मानिसले लडेका कारणले जनयुद्ध भएको बताए । उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्द कोष पल्टाएर हेर्न पनि आग्रह गरे । 

 उनले भने, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरूले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत् शान्ति सम्झौता ? तपाईँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ?’ 

उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजार पटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताए । उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे । 

 उनले भने, ‘म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला । नेपाली जनताले एकात्मक शाह वंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो ।  विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ ।’

उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए ।  





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १३:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया