धनगढी पुगेर पूर्वराजाले भने– कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन

पूर्वराजा ज्ञानेन्द्र शाहले कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य नसप्रिने बताएका छन् ।  सोमबार धनगढीमा नागरिक अभिनन्दन कार्यक्रममा आफ्नो धारणा राख्दै शाहले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले नेताहरुप्रति इंगित गर्दै भने, ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिऊँ, यसैमा हाम्रो कल्याण छ ।’

सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको उनले बताए । उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन अभिनन्दन कार्यक्रममा अपिल गरे । 

‘नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्रै बसौँ, देशमै पसिना बगाऊँ र आफ्नो पौरखले आफ्नै देश सपारौँ भन्ने भावना हराउँदै गएको छ ।’

‘नयाँ नेपाल’ प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन् । ‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली, तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’

उनले नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै स्रोत साधन र आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताए । 



उनले भनेका छन्, ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौँ गहिरिएर सोचौँ, अझ दिलैदेखि सोचौँ, नेपाली भएर सोचौँ, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौँ, देशभन्दा ठूलो अरु केही हुँदैन ।’
 
देशमा गणतन्त्र आएपछि पहिलोपटक सार्वजनिक रुपमा भएको पूर्वराजा अभिनन्दन कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १७:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया