logo-img

एमबिबिएसमा विद्यार्थीको आकर्षण : कहाँ कति काेटा, कति शुल्क ?

पछिल्लो समय चिकित्सा शिक्षातिर विद्यार्थीको आकर्षण बढ्दो छ । अभिभावकको चाहना, विद्यार्थीको रोजाइ र दक्ष जनशक्तिको मागले चिकित्साक्षेत्र अध्ययनको आकर्षणको केन्द्र बनेको हो । चिकित्साक्षेत्रतिर विद्यार्थीको आकर्षण बढेसँगै चिकित्सा शिक्षा अध्यापन गराउने संस्थाको संख्या पनि बढिरहेका छन् ।

चिकित्सा शिक्षा स्नातक तहभित्र पनि विभिन्न विधा छन् । जसमध्ये एमबिबिएस पनि एक हो । एमबिबिएस पढ्ने धेरै विद्यार्थीको चाहना हुन्छ । तर, चाहना राख्दैमा सबैले एमबिबिएस पढ्न भने पाउँदैनन् । धेरैलाई त एमबिबिएस  पढ्न के गर्नुपर्छ ? कति शुल्क लाग्छ ? एमबिबिएस  पढिसकेपछि चुनौती कस्ता आउँछन् र अवसर के छन् ? यावत् विषयको जानकारी नहुँदा समस्यासमेत हुने गरेको पाइन्छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीका अनुसार चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययन गर्न विद्यार्थीलाई सात हजार ६ सय ५९ सिट निर्धारण गरेको छ । जसमध्ये स्नातक तह एमबिबिएस  पढ्ने विद्यार्थीका लागि एक हजार आठ सय ९५ सिटसंख्या निर्धारण गरिएको छ । यस्तै, एमबिबिएसमा चार सय ३० छात्रवृत्ति कोटा छुट्याइएको छ । 

आयोगले प्रत्येक वर्ष एमबिबिएसमा एकीकृत प्रवेश परीक्षा लिने गरेको छ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि मात्र एमबिबिएस  पढ्न पाइन्छ । कतिपय विद्यार्थी छात्रवृत्ति कोटामा नाम निकाल्नका लागि प्रवेश परीक्षाको तयारीमा दिनरात नभनी पढ्छन् । छात्रवृत्तिमा नाम निकाल्न परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीले अर्कोपटकको परीक्षाका लागि पनि तयारी गर्छन् भने कतिपय विद्यार्थी अन्य विषय पढ्नतिर लाग्छन् । कोही भने चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जान्छन् । 

आवश्यक योग्यता र खर्च 

चिकित्साशास्त्र अध्ययन गर्न मुख्य विषय बायोलोजी लिएर कक्षा १२ मा उत्तीर्ण हुनुपर्छ । त्यसपछि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाइन्छ । एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले मेरिटका आधारमा कलेजमा भर्ना हुन फाराम भर्नुपर्छ ।



चिकित्सा शिक्षा अध्ययन खर्चिलो छ । काठमाडौं उपत्यकाभित्र एमबिबिएस पढ्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ । यस्तै, उपत्यकाबाहिर एमबिबिएस  पढ्न ४५ लाख ९५ हजार सात सय २० रुपैयाँ तोकिएको आयोगले जनाएको छ । 

‘चिकित्सक बन्न सजिलो छैन । लगानी, योग्यता र क्षमताजस्ता चुनौती झेल्दै मेडिकल अध्ययन अगाडि बढाउने हो भने यस क्षेत्रमा अवसर नै अवसर छन् । स्वदेश तथा विदेशमा मेडिकल अध्ययन गरेकालाई अवसरको कमी छैन,’ प्रा.डा. गिरी भन्छन् ।  



उपत्यकाभित्र सरकारले चिकित्सा शिक्षातर्फ छात्रवृत्ति उपलब्ध गराउँछ । छात्रवृत्तिको मेरिटबाहेक पूर्ण शुल्क तिरेर विद्यार्थीले कलेजको बाँकी सिटमा मेरिटकै आधारमा भर्ना हुन पाउँछन् । गरिब, दलित, जनजाति वर्गले पनि ‘मेरिट’का आधारमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था छ ।

विदेशी शिक्षण संस्थामा अध्ययनका लागि पनि सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सम्बन्धित मुलुकका दूतावासमार्फत लिइने परीक्षामा नाम निकाल्ने हो भने विदेशमा सस्तोमै अध्ययन गर्न सकिने उपाध्यक्ष प्रा.डा. गिरी बताउँछन् । चीन, बंगलादेश, रुसलगायतका मुलुकमा पूर्ण छात्रवृत्तिमा पढ्न जान पाइने उनको भनाइ छ । 

नेपालमा एमबिबिएस अध्ययन संस्था र विद्यार्थी कोटा

१. चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान, महाराजगन्ज काठमाडौं :  १००
२. काठमाडौं मेडिकल कलेज, काठमाडौं : १००
३. नेपाल मेडिकल कलेज, काठमाडौं : १००
४. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान : १००
५. मणिपाल मेडिकल कलेज, पोखरा : १००
६. स्कुल अफ मेडिसिन, काठमाडौं विश्वविद्यालय, धुलिखेल : १००
७. कलेज अफ मेडिकल साइन्स, भरतपुर : १००
८. युनिभर्सल मेडिकल कलेज, भैरहवा : १००
९. किस्ट मेडिकल कलेज, काठमाडौं : १००
१०.नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज : १००
११. चितवन मेडिकल कलेज, भरतपुर : १००
१२. लुम्बिनी मेडिकल कलेज, तानसेन : १००
१३. नोबेल मेडिकल कलेज, विराटनगर : १००
१४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन : ६५
१५. गण्डकी मेडिकल कलेज, पोखरा : १००
१६. विराट मेडिकल कलेज, विराटनगर : १००
१७. देवदह मेडिकल कलेज, भलवाडी : ५०
१८. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला : ३०
१९. जानकी मेडिकल कलेज : ५०
२०. नेसनल मेडिकल कलेज : १००
२१. नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स : १००
 

  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १७:१५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया