logo-img

प्रधानमन्त्रीलाई कांग्रेस सांसद घिमिरेको चेतावनी- आफ्नो क्षेत्रमा बजेट खन्याएर हुँदैन, हेक्का रहोस् गठबन्धनको सरकार हो

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरूको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरूले दिएको मतको ख्याल गर्न आग्रह गरे ।

उनले भने, ‘तपाईँहरू पनि हामीजस्ता मान्छेहरू चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानमन्त्री पनि हुनुभएको होला । तपाईँहरू एक्लै जितेको हुनाले आज यो स्थानमा पक्की पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफू मात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु ।’

 उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिए पनि हात लागि शून्य भएको बताए । उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनीसमेत दिए । उनले मुलुकको बजेटमा सांसदहरूको पनि अधिकार रहेको बताए ।

‘पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम । हामी यसैका लागि सांसद भएका रहेछौँ ? जनताको अपेक्षा के हामीसँग यति मात्रै हो ? बजेट विनियोजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए । हात लाग्यो शून्य । प्रधानमन्त्रीज्यू तपाईँलाई प्रधानमन्त्री बनाउन हाम्रा पनि मत जायर भएका छन्’, उनले भने, ‘तपाईँको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईँलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ । आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टी भित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धनको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो मुलुकको बजेट माथि हाम्रो पनि अधिकार छ ।’ 

उनले आफ्नै पार्टीका नेताहरूमाथि पनि विभिन्न प्रश्न गरे । उनले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनी प्रश्न गरे । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरूको पनि भूमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए ।

उनले भने, ‘मेरो मेरा नेताहरूलाई भन्न चाहन्छु के यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनभित्र हामी छिरेका थियौँ ? यसमा तपाईँहरूको भूमिका हुनुपर्दैन ? काँग्रेस सबैभन्दा ठूलो पार्टी हुनुमा हाम्रो पनि त भूमिका होला नि । तर पार्टी पनि जोगाउने हो भने अब यसरी काम चल्दैन । एउटा सानो कुराका लागि मन्त्रालयमा मन्त्री, सचिव, सह–सचिव, अधिकृतका पछाडि कुद्दा कुद्दा सांसदको जुत्ताको तलुवा खिइन्छ । स्वाभिमान भन्ने कतै रहँदैन । तर हातलागि सुन्ना । अब अति भयो मेरा पार्टीका नेताहरू पनि बोल्ने कि नबोल्ने ?’ 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १४:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया