मनसुन सुरु भएसँगै किसानलाई धान रोपाइँको चटारो

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ । यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ ।

बिहीबारदेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि त्यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन् । तर, जेठ महिनामा पानी नपर्नाले धानको बिउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपालि बीउको अभाव भएको किसानको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बिउ डढेर कम भए पनि रोपाई नरोकिएको बताए । उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई  तीव्रता दिइएको बताए ।

रासायनिक मलको भने अभाव भएको उनले बताए । ‘पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइँको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन,’ उनले भने ।

चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताइन् । उनले धान रोपाइँमा आवश्यक पर्ने मल मात्र नभइ जनशक्ति पनि कम भएको बताइन् ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाइ गिरीले बताउँछन् ।



कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । 

धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको गिरीले बताए । सूर्यविनायक नगरपालिका–८ नँखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए । 



खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन्। रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने कृषि प्राविधिक हरिकृष्ण नेपाल बताउँछन् ।

उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउनसके किसानलाई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेकी धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपिएको बताइन् । रासस

  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १७:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया