किसानलाई हिउँदे धान भित्र्याउन चटारो [तस्बिरहरू]

कैलालीको भजनी नगरपालिकाका किसान हिउँदे (चैते) धान भित्र्याउन व्यस्त छन् । भजनी नगरपालिका–३ र ८ लाइ हिउँदे धानका लागि पकेट क्षेत्र मानिन्छ । यसपालि कैलालीमा अहिलेसम्म वर्षा नभएपछि हिउँदे धान लगाएका किसानहरूलाई धेरै नै सहज भएको छ ।

यस पाली किसानले ‘कम्बाइन हार्वेस्टर’ खेतमा चिस्यान धेरै नभएपछि सहज भएको हो । भजनी नगरपालिका–८ कृष्णपुरका किसान निमलाल चौधरीले मेसिनले धान भित्र्याउँदै खुसी व्यक्त गरे ।‘गाउँमा आजभोलि मजदुर खोज्न पनि झन्झटिलो हुँदै गएको छ । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा समेत खुवाउनुपर्छ,’ उनले भने, ‘तर, प्रविधिले गर्दा किसानलाई ज्यादै सहज भएको छ ।’ 

पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए । उनले भने, ‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनुपर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद्य हाल्नुपर्छ, काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबै ठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’ 

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार भजनी नगरपालिका–३ र ८ मा सबैभन्दा बढी हिउँदे धान खेती हुने गरेको छ । त्यसबाहेक भजनीका अन्य वडासँगै कैलारी गाउँपालिका, जोशीपुर नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि हिउँदे धान हुने गरेको कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए ।  

भजनीलगायत आसपासको क्षेत्र बाढी प्रभावित क्षेत्र भएका कारण बर्से धान नष्ट हुन थालेपछि त्यहाँका किसान हिउँदे धानमा आकर्षित हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । ‘वर्षायाममा बाढीका कारण त्यहाँ धान हुँदैन,’ शर्माले भने, ‘गहुँ खेती गर्न पनि ढिलाइ हुने गरेको छ । त्यसैले त्यहाँ चैते धान विस्तार गरी नागरिकलाई खाद्यान्न अभाव हुन नदिने योजना अनुसार प्रदेश सरकारले हिउँदे धान खेती विस्तार गर्दै आएको छ ।’



उनले उत्पादित धानको बजारी करणका लागि पनि प्रदेश सरकारले सहयोग गर्दै आएको बताए । ‘चैते धान विशेष गरी चिउरा बनाउने प्रयोजनमा बढी प्रयोग हुने गरेको छ,’ शर्माले भने, ‘मिलमा पनि धान खरिद हुन्छ, कृषि ज्ञान केन्द्रले मिल र चिउरा मिलसँग समन्वय गरी उचित मूल्यमा धान विक्री गर्ने वातावरण मिलाउने गरेको छ ।’ 

कैलालीमा कुल क्षेत्रफलको ११ हजार हेक्टर जमिनमा हिउँदे धान खेती हुने गरेको छ । त्यसबाट ५ हजार ५ मेट्रिक टन धान उत्पादन हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान संस्थान खुमलटार ललितपुरका कार्यालय प्रमुख कृष्णराज जोशीले पहिले चैते धान भनिँदै आएकोमा अहिले हिउँदे धान भनिएको बताए । माघको अन्तिम देखि फागुन पहिलो सातामा रोपनी हुँदा हिउँदे धान भनिएको उनको भनाई रहेको छ । 



उनले  कैलालीको भजनीमा ढिलो धान रोपेमा धान पाक्न ढिलो हुने र असारमा वर्षाका कारण धान डुब्न सक्ने जोखिम हुने हुँदा फागुन पहिलो साताभित्रै बिउ राखेर चैतको सुरुमै रोपिसक्नु पर्ने बताए । बिउ राख्न ढिलाइ भएको अवस्थामा सोझै धान छरेर पनि खेती गर्न सकिने पनि उनको भनाई रहेको छ । 

भजनी क्षेत्रमा बर्खामा डुबान हुने हुँदा हिउँदे धान रोप्ने गरेको हो । भजनी नगरपालिका–३ रमेश चौधरीले भने ‘डुबानको समस्याले गर्दा वर्षे धानको सट्टा हिउँदे धान रोप्ने गरेको छौँ ।’  हिउँदे धान खेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको छ । हिउँदे धानको बीउका लागि प्रदर्शनी गरी किसानलाई पनि रोज्ने लगाउने गरेको कृषि ज्ञान केन्द्र कार्यालय कैलालीले जनाएको छ । 

 

  • प्रकाशित मिति : असार २, २०८० शनिबार ७:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया