logo-img

बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्ने हुँदैन, बजेट संशोधन हुन्छ : मन्त्री शर्मा
बालेन शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्न सुझाव

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएकी छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै बुधबार मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतैपनि नलेखिएको बताइन् । 

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन् । उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन् । उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्नेकुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो । पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रश्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ । अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन् । एउटा त सीमा हो , हामीसँग पैसा कम भयो । अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ । यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ । बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ । अहिलेसम्म हामी परम्परामा छौँ, जसले भन्नुभयो, त्यो परम्परामा बोल्नुभयो । बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानूनमा छैन ।’

मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताइन् । उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन् ।

उनले भनिन्, ‘सेन्सर बोर्डले कुनैपनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियम भन्दा विपरित भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्ममा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चलचित्रको मुल भाग भारतमा पनि हटाउनुपर्छ र नहटाइ चल्न दिनु हुँदैन भन्नेकुरा हाम्रो कुटनीतिक सम्बन्ध कायम गर्नका लागि हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आफ्ना आफ्ना क्षत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसावले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट भावना र मनोविज्ञानमा खेल्ने भन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’ 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १७:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया