प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको सुझाव : काम गर्न नसक्ने सचिवालय विघटन गरिदिनु

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन् ।  

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एकजना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको भन्दै पाण्डेले विघटन गर्न सुझाव दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबीसमेत गरे । 

पाण्डेले ‘मन्त्रालयहरू तपाईँको नेतृत्वमा चलिरहेका छन् कि छैनन् ?’ भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न पनि गरे । 

प्रधानमन्त्री दाहालले आफूमा शक्तिकेन्द्रित हुनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत निकायलाई कायमै राखेकोमा पनि पाण्डेले आपत्ति जनाए । 

‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ । अस्तव्यस्त छ भन्ने खालको कुरा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ । यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनुपथ्र्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय । र, अहिले मन्त्रीहरूले मन नपराएका सचिवहरू त्यहाँ कवाडी खानाजस्ता थन्क्याउने स्थिति रहेछ । हरेक फ्रष्टेड सचिवहरू त्यहाँ जम्मा हुने भएपछि उनीहरूले काम गर्छन् ?,’ पाण्डेले प्रश्न गरे । 



उनले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 



  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १७:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया