logo-img

सरकारले विमान खरिद पारदर्शी ढंगले गर्नुपर्छ : नारायण खड्का

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले विमान खरिद गर्ने कामलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । 

धेरै ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै नेता खड्काले विमान खरिद हुन नदिनका लागि अदालतमा मुद्दा हाल्नेलगायतका लफडा हुने भए पनि सरकारले पारदर्शीरूपमा सो प्रक्रियालाई अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

उनले हवाई उडानका लागि आईकाओले लगाएको प्रतिबन्ध फुकुवा गर्ने कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘नयाँ जहाज किन्ने कुरामा अनेक खालको लफडा हुन्छ । कसैले अदालतमा मुद्दा हाल्छन्, भ्रष्टाचारको कुरा आउँछ । तथापि हामीहरूले जे भने पनि साहसका साथ, हिम्मतका साथ जहाजहरू पारदर्शी ढंगले खरिद गरेर अनि आईकाओको कन्डिशनलाई हटाउन सकियो भने धेरै ठूलो मार्केट छ पर्यटन क्षेत्रको । जहाजकै समस्या भएपछि हामीले कसरी पर्यटन क्षेत्रको विकास गर्ने ? त्यसकारण यो बारेमा हामीले अत्यन्तै गम्भिरतापूर्वक हुनु पर्दछ,’ खड्काले भने ।

उनले नीति तथा कार्यक्रममा परेको सगरमाथा विमानस्थलका लागि बजेट विनियोजन नगरिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आक्रोशसमेत व्यक्त गरे । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार २१:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया