दुर्घटनामा निधन भएका कानुनमन्त्री सिंह दम्पतीको अन्त्येष्टि

मंगलबार दुर्घटनामा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएको चार दिनपछि आज गृह जिल्ला बझाङमा अन्त्येष्टि गरिएको हो ।

जिल्ला अस्पताल बझाङमा राखिएको मन्त्री सिंह दम्पत्तीको पार्थिव शरीरलाई जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदी स्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिएको थियो ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेपाली का‌ग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री एनपी साउँद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । शवयात्रामा सयौ स्थानीयको सहभागिता थियो ।

डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

जिप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकाेप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो ।





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार १७:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया