logo-img

देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

‘आर्थिक प्रणाली हामीले कहीँ न कहीँ छलफल गरेर प्रतिपक्ष र सरकार पक्षको विरोध र समर्थनका विषय होलान्, कुन कुन १६५ निर्वाचन क्षेत्रमध्ये कहाँकहाँ कसका बजेट परे, परेनन् भनेर आलोचनाको विषयले हेर्दा यहाँ उठेका त्यस प्रकारका तर्कहरूलाई सम्बन्धित मन्त्रालयले सुन्नुपर्छ । तर पनि आर्थिक अवस्था देशको जुन छ, त्यो अवस्था सुधार गर्नको निमित्त हामी सबैले सङ्कल्प गर्नुपर्छ’, उनले भने, ‘साझा विषयको रूपमा आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सामूहिक सङ्कल्पको साझा विषयको रूपमा हामी पक्ष र प्रतिपक्षमा बाँडिने अवस्था देशमा छैन । देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त हामी सामूहिक रूपमा अघि बढ्ने एउटा साझा सङ्कल्पको आवश्यकता छ ।’

उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे । उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रूपमा अघि बढ्ने एउटा साझा सङ्कल्पको आवश्यकता देशमा रहेको बताए । सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए ।

उनले बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभई देशकै विषय रहेको बताए । 

‘हाम्रो बजेटको प्रकृति भनेको साधारण खर्च सबैतिर बढेको र हामीले संविधानमा उल्लेख गरेका मौलिक हकसँग सम्बन्धित कतिपय कुरा अघि बढाउनका लागि हामीसँग बजेट अभाव भएको कारणले धेरै कामहरू गर्न सकेनौँ भन्ने कुरा निरन्तर छलफलमा उठेको छ’, उनले भने, ‘त्यस कारण म के अनुरोध गर्न चाहन्छु भनेदेखि हामीले यो राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि लिएर राज्यका साधारण खर्च जहाँ जहाँ नगर्दा पनि हुने प्रकृतिका छन्, त्यस प्रकृतिका कतिपय खर्चलाई कम गर्ने गरी अघि बढ्ने सुरुवात गरेको खण्डमा हामीले अलिकति बजेटको संरक्षण गरेर विकासतिर अघि बढ्न सक्छौँ ।’  





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १२:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया