काभ्रेमा ५० प्रतिशत खानेपानीको स्रोतमा ‘दिसाजन्य किटाणु’
फाइल तस्बिर

काभ्रेपलाञ्चोकको ५० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका ६ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो ।

कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख शहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमुनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए । 

उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो । 

‘जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ’, स्वास्थ्य कार्यालय डा. सेढाईंले भने । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ। कतिपय स्थानमा वितरित जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उनले बताए ।  

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छ । खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ। ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेरमात्रै पानी पिउनुपर्छ’, उनले भने ।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ । कार्यालयले जोखिममा द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको समेत स्वास्थ्य प्रमुख सेढाईंले बताए । उनले भने, ‘सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।’



कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार बान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । 

यस्तै, खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै, खानेपानी सधैं सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ । रासस 



  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार ९:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया