सासू-बुहारी अन्तरक्रियाका लागि सुनकोशी गाउँपालिकाले छुट्यायो १ लाख बजेट

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । 

समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिवर्तन ल्याउन उक्त कार्यक्रम राखिएको गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । ‘सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ,’ उनले भने ।

‘सासू कहिले आमा हुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन्’ भन्ने भनाइलाई गलत साबित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।

यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए । 

यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उनको धारणा छ ।  





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १४:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया