logo-img

बाबुराम भट्टराईको प्रष्टीकरण : ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको स्पष्ट पारेका छन् ।

आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको उल्लेख गर्दै भट्टराईले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट पारेका हुन् ।  

उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने पनि जिकिर गरेका छन् ।

‘मन्त्रिपरिषद्का निर्णयहरू एकाधबाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् । तीनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ । त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि म पले विधिवत् निर्णय गर्छ’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवाससम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ,’ भट्टराईले लेखेका छन्, ‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।’

तत्कालीन प्रमको हैसियतले आफूसँग जोडिएको विषय यति रहेको उनले जिकिर गरेका छन् । ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन’, भट्टराईले भनेका छन् ।

देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकररूपले झांगिएको स्थितिमा ललिता निवासलगायत सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन होस् र दोषीलाई कडा कारबाही होस् भन्ने कुरा आफूले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको पनि उनले उल्लेख गरेका छन् ।



भट्टराईले यस्ता प्रकरणको छिटो टुंगो लगाउन पनि आग्रह गरेका छन् । ‘बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्, अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्’, उनले लेखेका छन् ।



  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १४:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया