logo-img

रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा खोल्ने वातावरण बनाउन मुख्यमन्त्री पाण्डेको सुझाब
विपद् व्यवस्थापन एवं शान्तिसुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन एवं शान्तिसुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा उनले उच्च मनोबलका साथ काम गर्न सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिएका हुन् । 

भौगोलिक विकटताका कारण शान्तिसुरक्षा कायम गर्न र विपद् जोखिमको न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना जस्ता काममा समस्या भोग्नुपरेको उनले बताए । 

जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने र विपद् जोखिम न्यूनीकरणका सवालमा प्रदेश सरकार सधैँ सँगै रहेको बताउँदै उनले भने, ‘विपद् व्यवस्थापन, जोखिम न्यूनीकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ, हाम्रो साधन स्रोतले भ्याएसम्म प्रदेश सरकारसँगै छ, रहन्छ ।’

विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको उल्लेख गर्दै उनले जिल्ला तहमा पनि प्रदेशले १०÷१० लाख नघट्ने गरी विपद् कोषमा रकम पठाएको बताए । 

सुरक्षा निकाय प्रदेशमातहत हुँदा यस्ता काममा अझै सहज हुने भन्दै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भइरहेको जानकारी दिए । 



शान्तिसुरक्षाको अनुभूति हुने गरी नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तव्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालगायत पर्यटकीय सहरहरूमा रात्रिकालीन व्यवसायलाई सहज रूपमा सञ्चालन हुन दिनुपर्ने र चौबिसै घण्टा खोल्ने वातावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । 

गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षाको अवस्था, चुनौती, विपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षालगायतका बारेमा जानकारी गराएका थिए । 



गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेशस्थित प्रमुखहरूले बोलेका थिए । 

गोष्ठीमा भएको छलफल र आएका सुझावलाई केन्द्रित गरेर प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए । 

  • प्रकाशित मिति : असार १८, २०८० साेमबार २२:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया