logo-img

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको निर्णय असंसदीय : राजेन्द्र पाण्डे

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।  

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले कुनै बेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।  

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निष्कर्ष गठबन्धनको रहेको बताए ।

उनले बैठकमा गठबन्धनका दलहरूको छलफलबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको बताए ।   

‘प्रधानमन्त्रीका विरुद्ध उहाँले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्यो भन्ने किसिमका कुरालाई लिएर संसदमा अवरोध गरेको, अवरोध मात्रै होइन, सम्माननीय प्रधानमन्त्रीको त राजीनामा नै माग्ने निर्णय संसदीय दलको निर्णयबाट गरेको भन्ने कुरा आयो, प्रमुख प्रतिपक्ष दलले, एउटा त उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरालाई कसैलाई आपत्ति भयो भने संसदमा आवाज उठाउन पाइन्छ । र, उहाँहरूले भन्नुपर्छ, प्रधानमन्त्रीज्यू तपाईँले के बोलेको हो,’ पाण्डेले भने ।

उनले अगाडि थपे, ‘हामी सांसदले प्रधानमन्त्री बनाउने हो, नेपालको संसदले प्रधानमन्त्री बनाउने हो की तपाईँलाई भारत, चीन कसले बनाइदिने हो भनेर सोध्नुपर्ने हो । तर उहाँहरूले हतारमा प्रधानमन्त्रीको पनि कुरै नसुनिकन कुन सन्दर्भमा के कुरा गर्नुभएको थियो भन्नेकुरा नसुनी राजीनामा माग गर्ने निर्णय भएको छ, हामी गठबन्धन दलका सबै बसेर छलफल गरेर राजीनामा दिनु नपर्ने निर्णय गरेका छौँ । र, संसद फेस गर्ने निर्णय गरेका छौँ ।’



पाण्डेले बैठकले मिटरब्याजविरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास निर्णय भएकोसमेत बताए । 



  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १३:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया