logo-img

कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन् । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनी ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएको उनको सचिवालयले जनाएको छ ।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराएका थिए । उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य नेता निधि सम्मानित भएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । ‘विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ,’ नेता निधिले भने, ‘भारतको स्वतन्त्रता आन्दोलनमा पनि बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायत नेताले सहयोग गर्नुभएको थियो, जेलनेल जानु भएको थियो ।’

नेपाल–भारतबीच वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने उल्लेख गर्दै उनले भने, ‘नेपाल र भारत बीचको सम्बन्ध वर्षौं पुरानो हो । दुवै देशबीच सांस्कृति, राजनीतिक लगायतको सम्बन्ध रहेको छ । आगामी दिनमा पनि कायम रहनेछ ।’

दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उनको भनाइ थियो । ‘आपसी सहयोग दुवै देशको विकास र समृद्धिका लागि आवश्यक छ,’ नेता निधिले भने, ‘दुवै देशबीच पारस्परिक सहयोग जरुरी छ ।’



कार्यक्रममा राज्यसभाका उपसभापति हरिवंश, भारत सरकारका मन्त्री अनुराग ठाकुर, राज्यसभाका पूर्वसदस्य एवं भारतीय जनता पार्टीका नेता प्रभात झा, पूर्वमन्त्री सिपी ठाकुर, बलिउडका गायक कुमार सानु, गायिका अनुराधा पौडवाल, अभिनेता शेखर सुमन लगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : असार २५, २०८० साेमबार २३:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया