बैतडीमा ‘लम्पी स्किन’ नियन्त्रण बाहिर : ६४ हजार पशु संक्रमित, ९ हजार मरे

बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रण बाहिर गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।   

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिए ।

यो रोगबाट हालसम्म ६४ हजार १ सय ९७  घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण ९ हजार २ सय ९८ पशुचौपाया मरिसकेका उनले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन् । ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ,’ पाठकले भने ।

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ । लेकाली चिसो हुने गाउँमा कम छ । अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ,’ उनले भने । 

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ । लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । ‘सामान्य औषधोपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले सङ्क्रमित देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ,’ पन्तले भने । 

यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ । ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ,’ उनले भने ।



बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।  

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।



रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ । रासस 

  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ८:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया